तत्काल प्रदेश ५ को स्थायी मुकाम र नामकरण गर्न आग्रह

बुटवल– प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकमा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

बैठकको शून्य समयमा उनीहरुले प्रदेश नं ५ को स्थायी मुकाम र नामकरण अविलम्ब गर्न आग्रह गर्दै वर्षाका कारण भएको डुबान समस्या समाधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य उत्तरकुमार ओलीले प्रदेश सरकारको स्थायी मुकाम र नामकरण अविलम्ब टुङ्ग्याउन आग्रह गरे ।

अर्का सदस्य धर्मबहादुर लालश्रीवास्तवले भारतीय बाँधका कारण कपिलवस्तुको लोरौली, भगवानपुर, कर्जहवा, रतनपुरलगायतका क्षेत्रमा लगाइएको धान डुबानमा परेकाले त्यसको प्रभावकारी अनुगमन गरी क्षतिपूर्ति दिन माग गर्दै प्रत्येक जिल्लामा प्रदेश सरकारको एकाइ आवश्यक छ भने ।

सदस्य दीपेन्द्रकुमार अधिकारीले बर्दघाट नगरपालिकामा ग्रामीण आवास कम्पनीले बदनियतपूर्ण तरिकाले सूचना र टेण्डर आह्वान गरेकोप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सदस्य तेजबहादुर ओलीले रुकुम पूर्व रुकुमकोट पुग्ने सडक वर्षाका कारण अवरुद्ध भएकाले सो सडक सञ्चालन गर्न माग गरे ।

सदस्य भोजप्रसाद श्रेष्ठले राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्ने विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

सदस्य फकरुद्धिन खानले बजेट खर्च गर्ने निकाय र संयन्त्र कुन–कुन हुन् भन्ने सम्बन्धमा स्पष्ट पार्नुपर्ने बताउँदै प्रदेश सरकारको बजेट अपचलनको खतरा रहेको धारणा व्यक्त गरे ।

प्रदेशसभामा मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश नं ५ लोक सेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रस्तुुत गरे ।

त्यस्तै प्रदेशसभा विषयगत समितिको सभापतिकोे निर्वाचन आगामी साउन ९ र १० गते गर्ने मिति तोेकिएको घोषणा सभामुख पूर्णबहादुुर घर्तीले गरे ।

यस्तै राजपाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने कल्पना पाण्डेलाई सार्वजनिक लेखा समितिमा मनोनयन गरिएको छ ।