आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल चलान

काठमाडौँ– महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ ।

महाशाखाले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजी रकम राख्दा तीन महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनेर रकम ठगी गर्ने नागराजलाई आज जेल चलान गरेको हो ।

महाशाखाको टोलीले नागराजले रु दुई करोड ४० लाख ठगी गरेको भन्ने पीडितको निवेदनका आधारमा असार ९ गते पक्राउ गरेको थियो ।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले ठगी मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पूर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिए ।