मध्य बर्खामा पनि खडेरी

तेह्रथुम– मध्यबर्षा बितिसक्दासमेत पर्याप्त पानी नपरेपछि तेह्रथुमका अधिकांश खेत बाँझै छन् । पानी नपर्दा किसानले लगाएको मकै बाली समेत नष्ट हुन थालेको छ ।

मकैको बोटनै सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । तेह्रथुमका सुख्खाग्रस्त दर्जनभन्दा बढी गाउँका किसानले लगाएको मकैका बोटै सुक्न थालेपछि किसानलाई वर्ष दिनभरि के खाने, के लाउने भन्ने चिन्ताले सताउन थालेको छ ।

बारीमा फल लाग्ने बेला भएको मकैको बोटै सुकेर नष्ट हुन थालेपछि गाउँमा भोकमरीको सम्भावना निम्तिने सम्भावना बढेको छथर गाउँपालिका–४, फाक्चामाराका विष्णु सुवेदीले बताउनुभयो । छथर गाउँपालिकाको फाक्चामारा, पञ्चकन्या, हमरजुङ, सुदाप र ओख्रेका विभिन्न गाउँका किसानले लगाएको मकैका बोटै सुक्न थालेका छन् ।

यता फेदाप गाउँपालिकाको सिम्ले र जलजलेका समेत विभिन्न टोलमा लगाइएको मकै खेती खडेरीले सुकाएको गाउँपालिकाका उपाध्यक्ष गीतादेवी थापाले बताइन् । ‘वैशाख र जेठमा केही पानी परे पनि त्यसयता पानी परेको छैन,’ उपाध्यक्ष थापाले भनिन्, ‘त्यसैले गाउँमा खेतमा रोपाइँ हैन, बारीमा लगाएको मकै समेत सुकेर जाने अवस्था आएको छ ।’

बारीमा मकैका बोट सुकेर नष्ट हुन थालेको देख्दा आफूहरूलाई वीरक्त चल्ने गरेको छथर गाउँपालिका–४ की विष्णु सुवेदीको भनाइ छ । आठराई गाउँपालिकाको थोक्लुङ, चुहानडाँडा, संक्रान्ति, छातेढुंगालगायत गाउँमा समेत खडेरीले मकै सुकेर नष्ट बनाउन थालेको छ ।

मध्यअसार बितिसक्दासमेत पानी जिल्लामा पर्याप्त वर्षा भएको छैन । किसानले लगाएको मकै बाली मात्र हैन, गहत, कोदोलगायत बालीमा समेत खडेरीले प्रभाव पारेको छ । खडेरीले बालीनाली लगाउने र फल्ने बेला नष्ट गरेपछि आफूहरूलाई भोकमरी निम्तिने अवस्था आएको किसानले गुनासो गरेका छन् ।