स्थिरताको वातावरण बिगार्नेसँग प्रतिवाद गर्न प्रचण्डको आग्रह

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थिरतामा रमाउनेहरुले मुलुकमा स्थिरताको वातावरण बिगार्न लागेकाले त्यसको प्रतिवाद गर्दै समृद्धिको यात्रामा लाग्नुपर्ने बताएका छन् ।

नेपाल नेत्रहीन संघको रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले अस्थिरताको फोहोर फालेर पाँचवर्षीय स्थिर सरकारको लक्ष्यअनुसार समाजवादउन्मुख समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताउँदै भने, ‘अस्थिरता र अराजकताबाट कुम्ल्याउनेहरु अहिले खुशी छैनन्, उनीहरु छट्पटिएका छन् । त्यसमा रमाउन पल्केकाहरु स्थिरताको वातावरण बिगार्न लागेका छन् ।’

अध्यक्ष दाहालले समावेशिता र समानुपातिकता दृष्टिले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक हो भन्दै यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले समावेशी आयोगमा न्यूनदृष्टियुक्तको प्रतिनिधित्व गराइने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा राष्ट्रियसभाका सदस्य प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको रक्षाका लागि संविधानमा भएका व्यवस्था कार्यान्वयन हुनुपर्ने बताए । राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले यस क्षेत्रको विकासका लागि अधिकारसम्पन्न प्रतिष्ठान खोलिनुपर्ने माग गरे ।