अर्कासँग आफूलाई दाँजेर आफैलाई कमजोर नठान्नुस्

हामी जब आफ्नो हरेक कुरालाई अरुसँग तुलना गर्छौ, तब केही न केही मनमा उथलपुथल आउँछ । कोही धनाड्य देख्छौं, आफुलाई निरिह एवं दरिद्र महसुष हुन्छ । कोही बलवान देख्छौं, आफुलाई कमजोर ठान्छौं । कोही सुन्दर देख्छौं, आफुलाई कुरुप लाग्छ । यी सबैकुरा त्यहीबेला लाग्ने हो, जब हामी अर्कालाई हेर्न थाल्छौं । अर्थात अर्कासँग आफुलाई दाँजेर हेर्छौं ।

कोसँग आफुलाई दाँज्ने ?

संसारमा कोही मानिस सबै हिसाबले पूर्ण हुँदैनन् । कोही आकर्षक एवं सुन्दर हुन्छन्, तर उनीहरुसँग कुनै शिल्प नहुन सक्छ । कोही धनाड्य हुनसक्छन्, तर उनीहरु निरोगी नहुन सक्छन् । कोही बलवान हुनसक्छन्, तर उनीहरुसँग धनदौलत नहुन सक्छ ।

हरेकको आ–आफ्नै कमजोरी हुन्छ, आ–आफ्नै सवल पक्ष हुन्छ । त्यस्तो सवल पक्ष र कमजोरी तपाईंसँग छ । हामीसँग छ । सबैसँग हुन्छ । अर्कासँग आफुलाई दाँज्नु भनेको आफैलाई कमजोर तुल्याउनु हो ।

सत्य के हो भने, अरुको उन्नती, अरुको उचाई हेरेर त्यस अनुरुप आफुलाई पनि माथि उठाउन प्रयास गर्नुपर्छ । यसले जीवनमा केही गर्नुपर्छ भन्ने भावनालाई प्रवल बनाउँछ । कर्म गर्न उक्साउँछ । र, जीवनप्रति आशा जगाइदिन्छ ।

तर, अर्कालाई हेरेर आफुलाई कमजोर ठान्नु कुनै समस्याको समाधान होइन । त्यसले बरु आफुमा हिनताबोध पैदा हुन्छ । हिनताबोध पैदा भएपछि आत्मामनोवल कमजोर हुन्छ । आत्मामनोवल कमजोर भएपछि कुनैपनि काम गर्ने हिम्मत हराउँछ । जब यस्तो अवस्था आइलाग्छ, हामी दुखी, निरास, चिन्तित हुनपुग्छौं ।

निरर्थक कुरामा चिन्ता किन ?

संसारमा कतिपय कुराहरु हुन्छन्, जो हाम्रो प्रयासमा बद्लिन्छ । जस्तो हामी गरिब छौं, समुचित प्रयास गरियो भने गरिबी हटाउन सकिन्छ । हामी अनाकर्षक छौं, उचित ख्याल बिचार गरियो भने स्मार्ट देखिन सक्छौं । रोगी छौं, स्वास्थ्यप्रति सजग भइयो भने निरोगी हुनसक्छौं ।

तर, कतिपय कुराहरु बदल्न सकिदैन । जस्तो कि, निश्चित उमेरपछि हाम्रो शारीरिक बनौट, रुपरंग, उचाई निश्चित हुन्छ । यी कुरालाई हाम्रो सामाथ्र्यले बदल्न सकिदैन । र, यी कुरामा हामीले चिन्ता गरेर वा दुखी भएर हुनेवाला केही छैन । जस्तो छौं, त्यस्तै रुपमा स्विकार्नुपर्छ ।

अपेक्षाले दुखी बनाउँछ

हामी दुखी हुने अर्को कारण भनेको अपेक्षा पनि हो । हामी आफ्ना परिवार, सन्तान आदिसँग अपेक्षा गर्छौं ताकि आफुले भनेजस्तो सबैकुरा ठिकठाक होस् । राम्रो कमाई गर्ने पतिले सोच्छन् कि, पत्नीले पनि यत्तिकै आर्जन गरे कति भलो हुने थियो । कुनै कुरामा पोख्त पत्नीले सोच्छिन्, घरका अरु सदस्यले पनि मैले जस्तै सीप जानेको भए कति राम्रो हुने थियो ।

यस्ता कुराले हामीलाई कहिल्यै खुसी दिदैन । किनभने तपाईंमा जे खुबी छ, तपाईंकी पत्निमा त्यस्तै खुबी हुनुपर्छ वा हुन्छ भन्ने छैन । मार्क जुकरवर्गकी पत्नीले पनि उत्तिनै शसक्त र चमात्कारिक प्रविधिको अवधारणा पहिल्याउनुपर्ने हो । बिल गेट्सले बराबर उनकी पत्नीले पैसा आर्जन गर्नुपर्ने हो ।

सकारात्मक कर्मले जीवनमा खुसीको रंग

जीवनमा सबै कुरा धन दौलतले, सुख सयलले मात्र प्राप्त हुँदैन । जीवनको यो यर्थाथलाई बुझेर सकेसम्म रसपूर्ण, सारपूर्ण जीवन बाँच्ने प्रयास गर्नुपर्छ । जीवनलाई रमाइलो बनाउने वा सार्थक तुल्याउने कुरा भनेको कर्म हो । सकारात्मक र सार्थक कर्म । यस्ता कर्मले खुसी दिलाउँछ । खुसीले जीवनलाई उज्यालो बनाउँछ ।

खुसी हामीले खरिद गर्ने कुरा होइन, सापटी लिने कुरा होइन । हुनसक्छ, भौतिक कुराले यसमा केही प्रभाव पार्छ । तर यो पूर्णत मानसिक कुरा हो । जब हामी हरेक कुरालाई हेर्ने र बुझ्ने दृष्टिकोण सही बनाउँछौं, हाम्रो लागि खुसी दुलर्भ हुँदैन । हामी आनन्दसाथ, खुसीसाथ जीवन विताउन सक्छौं । खुसी हुनका लागि स्वस्थ्य हुनुपर्छ । स्वस्थ्य र खुसी एकअर्कामा जोडिएर आउने कुरा हुन् । स्वस्थ्य हुनका लागि उचित खानपान, उचित जीवनशैली, उचित विचार आवश्यक हुन्छ ।

हामीले आफ्नै मनलाई यसरी तालिम दिनुपर्छ कि, स–सानो कुरामा पनि खुसी हुने । जब हामी खुसी हुन्छौं, हाम्रो लागि संसार खुसी हुनेछन् । एजेन्सीहरुको सहयोगमा