रोहिंग्या शरणर्थीको समस्या झन जटिल बन्दै

याङ्गोन (रासस/एएफपी)– म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको सामाधानका लागि नियुक्त भएका एकजना अन्तर्राष्ट्रिय परामर्श समूहका एक जनाले राजीनामा दिएपछि यहाँको रोहिंग्या समस्या समाधानमा थप जटिलता उत्पन्न भएको छ ।

थाइल्याण्डका एकजना पूर्वसांसद तथा म्यानमारका लागि पूर्वथाई राजदूत कोबसाक चुटिकुलले सो परामर्श समितिको सचिवबाट राजीनामा दिएका हुन् । राखिन राज्यमा जारी रोहिंग्या मुस्लिम समुदायका नागरिकमाथि परेको समस्या र उनीहरुप्रति राज्यको सेनाका तर्फबाट गरिएको भनिएको व्यवहारका बारेमा अध्ययन गरी समाधानका उपायहरु सुझाउन सो समिति बनेको थियो ।

म्यानमारका विदेशमन्त्री आङ सान सुकीले गठन गर्नुभएको सो समितिलाई रोहिंग्या शरणार्थीका बारेमा अध्ययन गरी उनीहरुलाई घर फर्काउने उपायका बारमा सुझाव दिने कार्यादेश तोकिएको थियो । उक्त समितिमा छिमेकी देशहरुबाट पनि केही सदस्य राखिएको छ र यसलाई अन्तर्राष्ट्रिय परामर्श समूह नाम दिइएको छ ।

एएफपी समाचार समितिले शनिबार सो जानकारी दिएको छ । म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वका कारण त्यहाँ रहेका सात लाखभन्दा बढी रोहिंग्या मुसलमान नागरिक छिमेकमा पर्ने राष्ट्र बङ्गलादेशमा शरण लिएर बसेका छन् ।

यस समस्याको समाधानका लागि त्यहाँका राष्ट्रिय सल्लाहकार तथा विदेशमन्त्री आङ सान सुकीले नियुक्त गर्नुभएको अन्तर्राष्ट्रिय परामर्श समूहका सचिवले राजीनामा दिएपछि उक्त समस्या समाधानको बाटो पहिल्याउन केही गाह्रो पर्न सक्ने विश्लेषकहरुको भनाइ छ ।

म्यानमारको उत्तरी राज्य राखिनमा गत वर्षको अगस्त महिनाबाट म्यानमारको सैनिकले दमन गरेको र यसका कारण रोहिंग्या समुदायका लाखौँ मानिसले देश छोड्न बध्य भएका थिए । उनीहरु छिमेकमा पर्ने देश बङ्गलादेशको कोक्स् बजार पुगेका थिए । ती शरणार्थी अहिले पनि त्यहीँ छन् । म्यानमारको राखिन राज्यमा अहिले पनि ‘जातीय सफाया’ सरह नै नागरिकमा दमन जारी रहेको संयुक्त राष्ट्रसंघीय अधिकारीहरु जनाउँदै आएका छन् । बङ्गलादेशमा बसेका ती शरणार्थीहरुले आफ्नो जन्मथलो अहिले पनि त्यस्तै असुरक्षित अवस्थामा नै रहेको भन्दै घर फर्किन गाह्रो हुने प्रतिक्रिया दिँदै आएका छन् ।

उनीहरुमाथि अहिले पनि ज्यादती जारी रहेको र जसका कारण राखिन राज्यमा रहेका रोहिंग्या शरणार्थीहरुले आफ्नो जीविकोपार्जन गर्न नपाएको गुनासो रहँदै आएको छ । उनीहरुले जतिसक्दो चाँडो आफ्नो थात थलोमा फर्किन पाउँ भनी विश्व समुदायसँगै अपिल गर्दै आएको भए पनि उनीहरु घर फर्किने दिन कहिले आउने हो भन्ने विषय भने अन्यौलमै छ ।