तानपुराको मधुर ध्वनि इयरफोन मार्फत सुन्दै बिहान मिर्मिरेमै घरबाट निस्किए ।
टुडिखेल र खुल्ला मन्च बिचको बाटो हुँदै वीर अस्पताल तिर लम्किदै थिए एकजना केटा कुद्दै आयो , मलाई लाग्यो कसैले खेदाएको तर हैन रहेछ , मंच पछाडीको बारको छेउमा टुक्रुक्क बस्यो विचरा आपत परेर रहेछ । उठेर हाफपाइन्ट तान्दै छेउछाउको प्लास्टिकका बोतलहरु बटुल्दै लाग्यो गन्तव्य तिर ।
बाटो पारी जानलाइ आकाशे पुल चढे , पुलबिचबाट चारैतिर नजर डुलाए , खुल्ला मन्च त कतै खुल्ला रहेननछ । प्राकृतिक प्रकोप पर्दाको निम्ति छुट्टाएको खुल्ला स्थानहरु यसरी भरिदा चित्त दुखेर आउने रहेछ भन्न मन लाग्यो खचाखच मन्च। साना साना घरहरु र सवारी साधन अगाडि मन्च टोलाइरहेको थियो ।
पुलबाट हेर्दै थिए सडकमा गाडीहरू फाट्ट फुट्ट कुद्दै थियो सिमसिम पानी पर्न थाल्यो , फोहोरको डङ्गुर छेउबाट एकजना बिद्यार्थी बैनी हतार हतार बाटो काट्दै थिइन् माइक्रोबस तुफान आएर हिलो छ्यापेर गयो । बिचरी एक्लै भुतभुताउदै थिइन् ।
म पुलपारी वीर अस्पताल र ट्रमा सेन्टरको बिच हुँदै अगाडी बढे बाटोको छेउमा साना साना तीन चार वटा जति चिया पसलमा केहि मानिसहरु टुलमा बसेर चिया पिउदै थिए । ओत लाग्न म पनि सानो प्लास्टिकको पाल मुनि घुश्रिएर एउटा टुल तानेर बसे ।
मः दिदी एउटा हट लेमन बनाइदिनुस है ।
पसले दिदीः चिनी कति हाल्नु ?
मः चिनी हैन, छ भने बिरेनुन नत्र नुन हाले पनि हुन्छ ।
त्यहाँ चिया पिउनेहरु सबै बिरामी कुरुवा थिए । एकजना दाइ म तिर हेर्दै थिए , म मुसुक्क मुस्काए , तिनले सोधे ू भाइ नया बिरामी लिएर आउनु भएको हो ?
मः हैन बाटो परेर बसेको पानी छल्न । अनि तपाई बिरामी लिएर ?
ती ब्यक्तिः हो , मेरो भाइ सडक दुर्घटना भएर , छ महिना भइसक्यो सुधार त भइरहेको छ तर …
मः तर के दाइ ? (नजिक हुन खोज्दै सोधे)
ती ब्यक्तिः धेरै पैसा सकिइसक्यो, ऋण पनि धेरै लागि सक्यो । अझै कति बस्नु पर्ने हो अब त ऋण पत्याउनै छोडि सक्यो । (खुइय गर्दै सुनाउछन्)
यतिकैमा हँसिलो मुहारको एकजना चियाको गिलास बोकेर टुल तान्दै मेरो छेउमा आयो र भन्यो, अरे सबिन तिमी ? कताबाट ?
मः ओहो नमराज, दश बर्ष पछि भेट भयो । म मर्निङ वाक हिडेको पानी परेर यता छिरियो । अनि तिमी नि ?
नमराजः भाइ बिरामी भएर आएको ।
मः के भयो भाइलाई ?
नमराजः फुटबल खेल्दा लडेर ढाँड भाँचिएर । एक हप्ता भयो आज दिस्चार्ज गर्दैछौ । एक महिना घरमै आराम गरे निको हुन्छ रे ।
मः जाउ न त भाइलाई हेर्न । नमराजको भाइ हेर्न उनको पछि लागे । मलाई अनौठो दुर्गन्ध आएजस्तो लाग्यो ।
मः नमराज यो के को गन्ध ?
नमराजः पल्लो बेडमा एक जना बेवारिसे बिरामी छ त्यसैको हो ।
मः बेवारीसे ?
नमराजः आफन्त नभएर हस्पिटलले पनि वास्ता गर्दैन रहेछ , ज्यामी काम गर्दै गरेको युवा , लडेर अचेत अवस्थामा ल्याएको रहेछ हात खुट्टा जिउ केही नचल्ने आफन्त नभए र अप्रेसन गर्न नमिल्ने रे, बिचरा धेरै दिन सम्म भोकै हुन्छ ।
मः अनि तिमीहरुले डाक्टर संग कुरा गरेनौ त ?
नमराजः गरेको खै वास्ता गर्दैनन् । बेला बेला छेउकाले खाजा खुवाइदियो भने मात्र नत्र भोकै हुन्छ हस्पिटलको खाना पनि खान पाउदैन बिचराले ।
म छक्क परे, आफ्नै देशमा पनि वेवारिसे हुनु पर्ने । सरकारले यस्तो बिरामीको निम्ति भनेर छुट्टै कोश खडा गरेको हुन्छ । म बिरामी को छेउमा गएर सबै बुझे ।
हामी गएर वाडमा कुरा गरेर घाउ र जिउ सफा गर्न लगायौ । र एउटा टेलिभिजन लाई बोलाएर समाचार बनाउन लगायौ बेवारिसे बिरामी शीर्षक राखेर ।
मः भाइ के खान मन लागेको छ ?
बिरामीः मःमः खान मन छ सर तर मलाई खुवाइ दिनु पर्छ।
नेपालीको लोकप्रिय खाजा मःमः ल्याएर खुवाइदिए, स्वाद लिएर खायो बिचाराले । हामिले लायन्स क्लबको एक जना साथीलाई बोलाएर केही सहयोग गर्ने र बाँकी अस्पतालले सरकारी कोषबाट उपचार गर्ने गरि छ्लफल गर्यै र मन मनमनै एउटा कविता बुन्दै बिरामी संग बिदा मागेर म अस्पतालबाट बाहिरिए ।
कविताः
बेवारिसे बिरामी
कालो काल कुरेर बसेको छु
म मृत्युको शैयामा
मेरो नामको अगाडि
एउटा उपनाम छ
बेवारिसे बिरामी
हो म बेवारिसे बिरामी
म एक नेपाली
छैनन् कोहि मेरा आफन्त
न त साथीहरू छन्
मेरो पहिचान नेपाली
तै पनि म बेवारिसे बिरामी
अस्पतालको शैयामा
बिगत ७५ दिनबाट तड्पिरहेछु
किराहरु शरिरभरी सल्बलाइरहेको छ
पुरै कोठै गन्हाइरहेको छ
न त खानलाई दुई छाक छ
न त कसैको आशा छ
केवल दुई मुट्ठी सास छ
मृत्युको शैयामा काल कुरेर बसेको
म हुँ बेवारिसे बिरामी
म एक नेपाली ।
एउटा ज्यामी कामदार
कामगर्दा गर्दै लडेको म
कसैले ल्याएर अस्पतालमा छोडेछ
मेरा हात खुट्टा नचल्ने
गर्दनको नशा च्यापिएको
हरेक बस्तुको खरिदमा
राज्यलाई कर तिरेको
म हुँ बेवारिसे बिरामी
म एक नेपाली ।
आफ्नै देश भित्र मेरो
पहिचान बेवारिसे
आउदैनन् कोहि सान्त्वना दिन
कुनै मिडिया पाना रङ्गाउन
मेरो लाश
सडेर जान्छ होला
सायद २/४ मलामी
पनि हुने छैनन् होला
किनकी म हुँ बेवारिसे बिरामी
म एक नेपाली
आफ्नै देश भित्र
अस्पतालको शैयामा
काल कुरेर बसेको
एक बेवारिसे बिरामी ।।
लेखकः सविन भट्टराई