कारागारमै बच्चा जन्मिएपछि…

भद्रपुर– जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् ।

कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित महिलाले मेची अञ्चल अस्पतालमा बुधवार राति छोरीलाई जन्म दिएकी हुन् ।

आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको र आजै अस्पतालबाट दुवैलाई कारागारमा ल्याइएको कारागार प्रमुख निरौलाले बताए । चार महिनाअघि गर्भवती अवस्थामै उनी कारागारमा थुना परेकी थिइन् । इलाका प्रहरी कार्यालयले गत चैतमा बिर्तामोडको एक होटलबाट पक्राउ गरेर उनीमाथि सार्वजनिक मुद्दा दर्ता गरेको थियो । झापा जिल्ला प्रशासन कार्यालयले उनलाई रु पाँच हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेर उनी कारागारमा थुना परेकी हुन् ।