जाजरकोट र डोल्पामा खच्चडकै भरमा सामान ढुवानी

जाजरकोट– जाजरकोट, डोल्पा जाने आन्तरिक सडक अवरुद्ध भएपछि ढुवानीको विकल्प नहुँदा घोडा तथा खच्चडको प्रयोग पढ्न थालेको छ ।

डोल्पामा दुई विमानस्थल भए पनि त्यहाँ नियमित रुपमा उडान हुन नसक्दा तथा भाडादर सर्वसाधारणले थेग्न नसकेको कारण घोरेटाहरुमा अझै खच्चडका लस्कर मात्र देखिन्छन् । जाजरकोट र डोल्पामा दैनिक ४०० भन्दा बढी खच्चडले खाद्यान्न, दैनिक उपभोग्यवस्तु र निर्माण सामग्री ओसार्ने गरेको सम्बद्ध व्यवसायी बताउँछन् ।

चामल, चिनी, तेल, नुन, ग्यास, दाललगायत खाद्यान्न तथा लत्ताकपडा, पुस्तक र सिमेन्ट, छडलगायत विकास निर्माण सामग्री घोडा–खच्चडबाटै ढुवानी गर्ने गरिएको छ । जाजरकोट र रुकुमका विभिन्न बजारबाट दैनिक ४०० खच्चडले डोल्पातर्फ सामान ओसापसार गर्ने गरेको खगेनकोटका पूर्णबहादुर खत्रीले बताए । गत वर्ष सरकारले एक वर्षभित्र मोटरबाटो पु¥याउने भने पनि तल्लो डोल्पामा मात्र यातायातका साधनहरु सञ्चालन हुन सकेका छन् । जाजरकोट–दुनै सडक निर्माणमा संलग्न सैनिक कार्यदलले यो वर्षभित्र दुनैमा सडक पुग्ने बताएको छ । यातायातको साधनका रुपमा हवाई सेवा छ तर नियमित तथा भरपर्दो छैन । खच्चडबाट ढुवानी गर्दा भन्दा निकै महँगो पनि पर्ने जुफाल त्रिपुराकोटका रामबहादुर न्यौपानेले बताए ।

‘खच्चडले रु ६० प्रतिकिलोमा ढुवानी गर्ने सामान जहाजले १५० लिन्छ,’ उनको भनाइ छ । दैनिक घोडा–खच्चडले ढुवानी गर्दा पनि डोल्पामा खाद्यान्न र विकास निर्माण सामग्री अभाव हुने गरेको न्यौपानेको भनाइ छ । जाजरकोटको तल्लुबगरसम्म यातायात सञ्चालन हुने गरेको छ । कच्ची सडक, विभिन्न खोलामा पुल नहुँदा यातायात नियमित बन्न नसक्दा डोल्पा लैजाने सामग्री टाढाको दूरीबाटै खच्चडद्वारा ढुवानी हुने गरेको छ । सेनाले जाजरकोट–डोल्पा सडक निर्माण कार्यलाई तीव्र पारेको छ । वर्षायाम भएका कारण अहिले अधिकांश जाजरकोट सडकखण्ड बन्द भएका छन् ।

चालु वर्षमा डोल्पा खण्डमा भिर काट्ने कार्य जारी भएको सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले जानकारी दिए । जाजरकोट र डोल्पामा सडक निर्माण कार्य तीव्र भए पनि वर्षाको कारण सडक भत्किएपछि सबै यातायातका सेवा ठप्प भएको हो । अहिले खच्चडको भरमा ढुवानी कार्य सञ्चालन हुँदै आएको छ । रासस