एम्वुलेन्स सञ्चालनका लागि गुरुङद्वारा एक लाख सहयोग

इलाम– इलाम जिल्लाको पश्चिमी भूभाग साविक चमैता गाविस क्षेत्रमा एम्बुलेन्स सञ्चालन गर्ने कार्यका लागि लालबहादुर गुरुङले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

साविक चमैता–०२ मैदाने हाल देउमाई नगरपालिका–०१ का गुरुङले एम्बुलेन्स सञ्चालन कार्यमा सक्रिय रहेको ‘श्री चमैता सरोकार समाज’ नामक संस्थालाई काठमाडौंमा सोमबार उक्त रकम हस्तान्तरण गरेका हुन् ।

साविकको चमैता गाविस, हाल देउमाई नगरपालिका एवं फाकफोकथुम गाउँपालिकाका केही स्थानका स्थानीयहरु र विशेषगरी त्यहाँ (चमैतामा) जन्मिएर विभिन्न पेशा,व्यवसायले जन्मथलो भन्दा बाहिर रहेका व्यक्तिहरुको सक्रियतामा ‘जन्मभूमिको सेवा, विकासमा टेवा’ भन्ने नारा लिएर आफ्नो गाउँ आफै समृद्ध बनाउने लक्ष्यका साथ शुरु गरेको विभिन्न योजनाअन्तर्गत पहिलो चरणको एम्बुलेन्स सञ्चालन गर्ने कार्य अगाडि बढेको संस्थाको अध्यक्ष मनबहादुर गुरुङले बताए । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि एवं उद्यमका विभिन्न क्षेत्रमा स्थानीयस्तरमा कार्यक्रम संचालन गर्ने क्रममा गाउँमा एम्बुलेन्स सेवाको अत्यन्तै आवश्यकता भएकाले उक्त कार्य पहिलो चरणमा सम्पन्न गर्न लागिएको गुरुङले बताए ।

एम्बुलेन्स सञ्चालनकै लागि स्वदेश एवं विदेशका विभिन्न ठाउँबाट दाताहरुको सहयोगमा हालसम्म नौ लाख रुपैयाँभन्दा बढी रकम संकलन भईसकेको संस्थाका कोषाध्यक्ष बेनुपराज वस्नेतले जानकारी दिए । वस्नेतकाअनुसार एम्बुलेन्स खरिद प्रक्रियाको कम्पनीलाई रकम हस्तान्तरण गरिसकेको र यही असोजको दोस्रो हप्तामा गाउँमा एम्बुलेन्स सञ्चालन हुने पनि बताए ।