देशभरका एक सय एक किसान संघ–संस्थाहरु एकै ठाउँमा

काठमाडौं– कृषि उपजले मुल्य नपाएपछि बिभिन्न उत्पादनमा संलग्न किसानहरुले देशभर आन्दोलनको तयारी गर्दै एक ठाउँमा जुटेका छन् । तरकारी, फलफुल, दुध, केरा, च्याउ उत्पादन लगायतका १०१ कृषि संघ संस्थाहरुको मंगलबार राजधानीमा बसेको बैठकले साझा आन्दोलन गर्ने निर्णय गरेको हो । उक्त कृषि संघ संस्थामा करिव ५० हजार किसानहरु आवद्ध रहेका छन् ।

बिभिन्न जिल्लाका कृषि सहकारी, समूह, प्रविधि सेवा तथा समाग्री प्रदायक संघ संस्था तथा किसान संघ÷महासंघको प्रतिनिधित्व रहेको ‘नेपाल कृषि उत्पादन तथा बजारिकरण सञ्जाल’ले मुल्य मारमा परेका किसानहरुको माग प्रति सरकार उदासिन रहेको भन्दै सरकारलाई थप दवाब दिन बिभिन्न चरणका आन्दोलनको तयारी गरेको हो । सञ्जालले सातै पदेश र संघमा दवाबमुलक कार्यक्रहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसअघि श्रावण ९ गते सञ्जालले किसान आयोग मार्फत सरकारलाई १४ सुत्रीय माग पत्र पेश गरेको थियो । आयोगको सुझावलाई सरकारले तत्काल सुनुवाई नगर्दा गोलभेंडा, दुध लगायतका किसानहरुले उत्पादन लागतसम्म पाउन नसकेको सञ्जालका संयोजक रमेश पण्डित ‘तुफान’ले बताए । संयोजक तुफानले भने, ‘अझै पनि सरकार उत्पादन र बजारिकरण नीति र प्रणालीमा स्पष्ट छैन । यसले गर्दा कृषि उपजको मुल्य लागत बढ्ने, टिपाई तथा ढुवानीबाट ४० प्रतिशत सम्म उपज नष्ट हुने तथा तरकारी बजार राज्यको नियन्त्रण बाहिर रहने गरेकोले किसानहरु मारमा पर्दै आएका छन् ।’

सञ्जालकी सल्लाहकार सुनिता न्हेम्हाफुकीले कृषि बजारिकरणलाई ब्यवस्थित गर्न निश्चित स्थान र दुरीका आधारमा अन्य ब्यवसायीसँगको सहकार्य गर्न सकिने सुझाव दिएकी छन । सञ्जालका सचिवालय सदस्य खोजराज कटुवालले भारतीय सामानलाई निर्वाध आयत गर्न दिने तर नेपाली कृषि उपजहरुलाई रोक लगाउने नीतिले नेपाली कृषि उत्पादनले बजार नपाएको बताए । सरकारले नेपाली उत्पादनलाई भारतीय बजारमा पठाउन नसके भारतीय कृषि उत्पादन पनि नेपाल भित्रयाउन अवरोध गर्ने तयारी सञ्जालले गर्ने जानकारी कटुवालले दिए । नवलपरासी दुम्किवासमा ४२ बिघामा तरकारी तथा फलफुल उत्पादन गर्दै आएका सञ्जालका सदस्य दीर्घजीवी पोखरेलले कागतीको बजार नपाउँदा कुवाएर अचार बनाउनु परेको बताए । सञ्जालका सदस्य तथा केरा किसान संघका प्रतिनिधि लक्ष्मण सुवेदीले स्थाई कृषि बजारको लागि अब अन्तिम लडाँई लडन किसानहरु तयार रहेको बताए ।

त्यसै गरी घरदैलो बहुद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष गोदावरीकी गंगा देवी मुलले आन्दोलनले बजार ब्यबस्थापन हुने बिश्वासले आफू उत्सुकतापुर्वक आन्दोलनमा सहभागी भएको बताईन । नेपाल कृषि उद्यमका मीन प्रसाद कोईराला ‘प्रतिक बाबा’ ले बैठकमा उपस्थित हुन नसकेका सबै संस्थाहरुलाई केही दिनमै एक दवाबमुलक संघीय किसान भेला मार्फत संगठित गरिने जानकारी दिए ।

सञ्जालको बैठकले किसानका हितमा काम गर्ने बास्तविक अन्य संघसंस्थाहरुलाई एकताबद्ध भएर राष्ट्रिय आन्दोलनमा अघि बढ्न अपिल गरेको छ । त्यसैगरी नेपालभरका दर्ता कृषि सहकारी तथा कृषक संघसस्थाहरु सञ्जालका सदस्य हुन सक्ने ब्यबस्था गरेको छ । सञ्जालका सल्लाहकार डा. राजेन्द्र देवकोटाले उपजहरुलाई बिक्रि बितरण गर्न स्वस्थ, ताजा र सुलभ कृषि उत्पादन सहितको किसान बजार निर्माण गरिने मोडलमा जान सकिने बिकल्पमा पनि योजना बनिरहेको बताए ।

बैठकले ११ सदस्यीय सचिवालय गठन गरेको छ । जसमा संयोजक रमेश पण्डित तथा सदस्यहरुमा दीर्घजीवी पोखरेल, कृष्णप्रसाद पाठक, खोजराज कटुवाल, मनोज चापागाई, करुणा लोहनी, बसन्त पाण्डे र राजकुमार श्रेष्ठ छन् भने कार्यलयमा कमल श्रेष्ठ र दिनेश थापा रहेका छन् । त्यसै गरी सल्लाहकारहरु डा. केदार बुढाथोकी, डा. राजेन्द्र देवकोटा, महेश्वर घिमिरे, अनन्त घिमिरे, शिव अधिकारी, शम्भु कार्की, राम बहादुर कुँवर, ऋषिराम भुसाल, सुनिता न्हेम्हाफुकी रहेका छन । सञ्जालमा ३३ जिल्लाका ८० प्रतिशत कृषि सहकारी तथा २० प्रतिशत समूह, नीजि फार्महरु संगठित रहेका छन् ।