लघुकथाः हाफ क्लज

जब म अफिस बाट निस्कने बेला हुन्थ्यो । हतार हतार गर्दै उनी कम्प्युटर बन्द गर्दै सानो ब्याग ठिक पार्थिन् । बुझ्थे मसँग लिफ्ट माग्छिन् भनेर ।

सार्वजनिक सवारीमा झन्झटपुर्ण यात्रा, भिडभाड, समय बढी लाग्ने कारणले काठमाडौंमा यात्रा गर्न गाह्रो भएर होला उनले म संग लिफ्ट मागेको । बिस्तारै बानी परेछ , सधाझैं मेरो मोटरसाइकल पछाडी बस्थिन् ।

काठमाडौंको जाममा अगाडिको सवारी साधन संग ठोकिने डर उतिकै हुने हुनाले ब्रेक , गियर र क्लज कति चलाउनु पर्ने पर्ने । आवाज निकाल्दै भएपनि मलाई हाफ क्लजमा बानी परिसकेको थियो । बेला बेला हुत्तिने अलिक पुरानो मोटरसाइकल र झ्याप्प झ्याप्प हानिरहनु पर्ने ब्रेक ।

ब्रेक लगाउदा उनी म संग टासिन आउथिन् , म अफ्ठयारो मानेझैं गर्थे र सोध्थेँ, ‘अफ्ठयारो भयो होला है ?’

उनी मुस्कुराउँदै कानमा खुसुक्कै भन्थिन्, ‘ठिकै छ काठमाडौंको बाटो अनि यस्तो जाम ।’

मेरो हाफ क्लजको घ्यार घ्यार र झ्याप्प लाग्ने ब्रेकमा बिस्तारै उनलाई बानी परेछ क्यारे ब्रेक लाग्ना साथ टाँसिन आउथिन् । पछाडी बाटै भएपनि त्यो यौवनको स्पर्शले मेरो मनमा काउकुति लागेर आउँथ्यो । उनिलाई त बानी नै परेछ ।

अफिसबाट फर्किने बेलामा खुसुक्क भन्थिन्, ‘आज पनि हाफ क्लज है ।’

लेखकः सविन भट्टराई