बाँझो जमीन राख्नेलाई कारबाही हुने

रत्ननगर– रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिए ।

उनकाअनुसार विभिन्न वडामा बाँझो जमीन राख्नेविरुद्ध गरिएको कारबाहीबाट अहिलेसम्म रु एक लाख ३६ हजार राजश्व सङ्कलन भएको छ । नगरपालिकाले बाँझो जमीन राखेको पाइएमा प्रतिकठ्ठा रु ५०० का दरले जरिवाना लिने गरेको छ ।

‘धेरैजसो क्षेत्रमा जग्गा प्लटिङ छ, अन्य व्यक्तिले खाली जमीन राखेका भए उनीहरूसमेत कारबाहीमा पर्छन्,’ नगरप्रमुख वनले भने, ‘जग्गा खाली नहोस् भन्ने नगरको उद्देश्य हो । नगरपालिकाले अहिले यहाँ जग्गा प्लटिङसमेत रोकेको छ ।’

सबैभन्दा बढी वडा नं १४ मा जग्गा खाली रहेको जानकारी दिँदै वडाध्यक्ष हरिकुमार श्रेष्ठले कारबाही थालेपछि केही जग्गा धनी सचेत हुन थालेको बताए । बाँझो जमीनलाई खेती गर्न दिने विषयमा छलफल चलाइए पनि फेरि जग्गाको स्वामित्वमा समस्या पर्ने भएकाले जग्गावाला डराएको नगरपालिकाको भनाइ छ ।

उक्त नगरपालिकाले यहाँको सरकारी जग्गाको संरक्षण अभियानसमेत अगाडि बढाएको जग्गा संरक्षण समितिका संयोजक हरिकुमार श्रेष्ठले बताए । उजकाअनुसार अहिलेसम्म करीब ३० विगा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरिएको छ । ठाउँठाउँमा भने जग्गामा विवाद भएकाले निकास निस्कन सकेको छैन । उक्त अभियानलाई निरन्तर अघि बढाइने नगरप्रमुख वनले उल्लेख गरे ।