बैतडीको दोगडाकेदार गाँउपालिकाले टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता दिने

बैतडी– बैतडीको दोगडा केदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता दिने भएको छ ।

टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस् भनेर मासिक दुई हजार भत्ता दिन लागिएकोे गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । उनले भनिन्, ‘टुहुरा बालबालिकाले आमाबुबा गुमाएको महसुस नगरुन र उनीहरुको पढाइमा कुनै पनि किसिमको समस्या नहोस भनेर भत्ता दिन लागेका हौं ।’

टुहुरा बालबालिकालाई दिइने भत्ताले बालबिवाह न्यूनीकरणमासमेत टेवा पुग्ने उपाध्यक्ष कार्कीले बताइन् ।

गाउँपालिकाले टुहुरा बालबालिकाको तथ्याङ्क संकलन गरिरहेको जनाएको छ । १८ वर्षमुनिका आमाबुबा गुमाएका टुहुरा बालबालिकालाई भत्ता दिनका लागि तथ्याङ्क सङ्कलन गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा रहेका सबै आठवटै वडाका वडा अध्यक्षलाई टुहुरा बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न गाउँपालिकाले निर्देशन दिइसकेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । टुहुरा बालबालिकाको भत्ताका लागि गाउँपालिकाले महिला तथा बालबालिकाको रकमबाट दुई लाख ४० हजार रकम छुट्याएको जनाएको छ ।