लुटपाट गरेर भाग्दै गरेका भारतीय पक्राउ

दमौली– दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारत पश्चिम बङ्गाल कुचविहार जिल्ला कालीबाडी थानाका ३० वर्षीय आनन्द दास, शान्तिपडा थाना वडा नं ६ का ४० वर्षीय विनोद ग्वाला, विहार प्रदेश अररिया जिल्ला जोगमुनी थाना जोगमुनी गाउँका ४२ वर्षीय अजय शाह र पश्चिम बङ्गाल जलपाइ जिल्ला मेनागुडी थाना रेलवेकलौनी गाउँ बस्ने २६ वर्षीय बादल ग्वाला पक्राउ परेको तनहँु प्रहरीले जनाएको छ ।

गत सोमबार नेपाल बैंकबाट पैसा निकालेर आएका व्यास–७ का कृष्णबहादुर बसौलालाई पिछा गर्दै उनीहरुले बसौलाले बोकेको व्यागसहित रु १७ हजार चोरी गरेर भागेका थिए । उनीहरुले सुनियोजितरुपमा बसौलाको सर्टमा हिलो छ्यापी झोला चोरेर भागेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

झोला चोरी गरी फरार रहेका व्यक्तिलाई बजारमा जडान गरिएका सिसी क्यामेरामा कैद भएका भिडियोका आधारमा बुधबार साँझ ५ः३० बजे पक्राउ गरिएको उनले बताए । प्रहरीले निजका साथबाट चोरी अपराधमा प्रयोग हुने पेचकस, फलामे रड तथा नगद रु १५ हजार ६०० बरामद गरेको छ ।

पक्राउ परेकाले चोरी गरेको स्वीकार गरेको र यसभन्दा अगाडि सोही तवरबाट विभिन्न जिल्लामा चोरी गर्ने गरेको बयान दिएका छन् । उनीहरुविरुद्ध आज तनहुँ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।