अपडेटः हेलिकप्टर दुर्घटनास्थलमा ६ जनाको शव भेटियो, एक जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं– गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते भएकी एक महिलालाई उद्धार गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा गोरखाको चुमनुब्री गाउँपालिका–२ की ल्हो आनी डोल्पा डिकी रहेकी छिन् ।

घटनास्थल निकै दुर्गमस्थानमा रहेकाले उनलाई डोकोमा राखेर अस्पतालतर्फ लगिएको छ ।

शनिबार बिहान नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर टुक्राटुक्रा अवस्थामा फेला पनि बताइएकोछ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ की ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ ।
९ एन ए एल एच कलसाइनको सो हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए ।