खेल क्षेत्रलाई प्राथमिकतामा राखेको छुः मुख्यमन्त्री राई

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता एवं अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर तथा पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “खेलकूदले नागरिकलाई स्वस्थ र बलियो बनाउन सकिन्छ ।”

मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकारले पाँच वर्षसम्मका लागि प्रतिवर्ष रु एक करोड उपलब्ध गराउने प्रदेश सरकार र अखिल नेपाल फुटबल सङ्घबीच सम्झौता भएको जनाएको छ । सो सम्झौता पत्रमा मुख्यमन्त्री शेरधन राई र सङ्घका अध्यक्ष कर्मासिंह शेपाले हस्ताक्षर गरे ।

मुख्यमन्त्री राईले राष्ट्र र प्रदेशको पहिचान एवं प्रतिष्ठा खेलकूदबाट बढ्ने हुँदा खेल र खेलाडीको मनोबल बढाउन प्रदेश सरकार लागिपर्ने बताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले यस प्रदेशस्थित केही खेलकूद मैदानलाई छनौट गरी अन्तर्राष्ट्रियस्तरको बनाउने योजनामा सरकार रहेको बताए ।

अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मासिंह शेर्पाले खेलकूद क्षेत्रको विकास तथा विस्तारका लागि प्रदेश सरकारले ठोस योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री शेरधन राई र अखिल नेपाल फुटबल सङ्घको तर्फबाट अध्यक्ष कर्मासिंह शेपाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

यसैगरी, प्रदेश सरकारको सहकार्यमा अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगितसमेत सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ र प्रदेश खेलकूद बोर्डको परामर्शमा मन्त्रिपरिषद्द्वारा गठित आयोजक समितिलाई प्रदेश सरकारले पाँच वर्षसम्मका लागि प्रति वर्ष रु एक करोड उपलब्ध गराउने छ ।

प्रतियोगितामा सात प्रदेशका उत्कृष्ट समूह, ए डिभिजनका क्लबमध्येबाट उत्कृष्ट ६ र विदेशी आमन्त्रित फुटबल समूहबाट तीन गरी बढीमा १६ समूहको सहभागिता रहनेछ ।