‘फेक अवार्ड’मा ग्रीनकार्ड अवेदन

काठमाडौं– केही दिन अगाडि चलचित्र विकास बोर्डका एक कर्मचारीलाई अमेरिकी दुतावासबाट फोन आयो । अमेरिकी दुतावासले करिब आधा घन्टा नेपाली चलचित्रमा काम गर्ने चलचित्रकर्मीले ग्रिन कार्डका लागि दिएको आवेदनको बारेमा जिज्ञासा राखेको थियो ।

वुझिएअनुसार, नेपालबाट ग्रिन कार्डको आवेदन दिएर अमेरिका नै बस्न चाहने चलचित्रकर्मीको संख्या अहिले निकै छ । चलचित्र क्षेत्रमा काम गर्ने धेरै चलचित्रकर्मीले नेपाललाई अझै पनि भविष्यका लागि सुरक्षित मान्न नसकिएको देखिएको छ । यसैले पनि उनीहरु सोझै नेपालबाटै ग्रिन कार्ड बनाएर अमेरिका उड्न चाहन्छन् । पछिल्लो समयमा, धेरै चलचित्रकर्मी यसरी नै अमेरिका पुगिसकेका छन् ।

अवार्डमा प्रश्न ?

नेपालमा अहिले बर्षेनी एक दर्जन भन्दा बढी अवार्डको आयोजना हुँदै आएको छ । अवार्ड पाउनेले त सक्कली रुपमा नै आफ्नो प्रमाणपत्र ग्रिन कार्डका लागि वुझाउने नै भए । तर, यहाँ अवार्ड नपाउनेले पनि नक्कली सर्टिफिकेट बनाएर, नक्कली तस्बिर बनाएर आवेदन दिने गरेका छन् । दुतावासले चलचित्र विकास बोर्डसँग सोध्यो–‘नेपालमा यति धेरै अवार्ड हुन्छ ?’

यतिमात्र होइन, अमेरिकी दुतावासले एउटै अवार्डमा उत्कृष्ट भएको भन्दै धेरै आवेदन आउने गरेको समेत उल्लेख गरेको श्रोतले बताएको छ । अमेरिकी दुतावासले नेपालको कुन अवार्ड विश्वसनिय हो भनेर समेत प्रश्न गरेको छ ।

एउटाले अवार्ड पाउँदा सोही अवार्ड बोकेर तस्बिर खिच्ने र सोही तस्बिर आवेदनमा समावेश गर्ने प्रचलन समेत बढेको वुझिएको छ । श्रोतले भन्यो–‘केही चलचित्रकर्मीले त अवार्ड आयोजकलाई नै थाहा नदिई प्रमाणपत्र बनाएर समेत आवेदन दिने गरेका रहेछन् । यसैले पनि अहिले अमेरिकी दुतावासले अवार्डको विश्वसनियता कति हो भनेर वुझ्न खोज्दैछ ।’

नेपालमा आयोजना हुने दर्जन बढी अवार्ड मध्ये धेरै विवादमा पर्ने गरेका छन् । कलाकारका लागि यस्तो अवार्ड विदेश जानका लागि सबैभन्दा बलियो प्रमाण बन्ने गरेका छन् । तर, एउटा बर्ष कुनै एक विधामा एक जनाले मात्र अवार्ड पाउने गर्छन् । तर, सोही बर्ष एउटै अवार्डमा एकै विधामा अवार्ड पाएको भन्दै धेरै आवेदन आउन थालेपछि दुतावास समेत आश्चर्यमा परेको वुझिएको छ ।

अमेरिकी दुतावासले चलचित्र विकास बोर्डलाई फोन गरेर अवार्डको विश्वसनियताको बिषयमा सोध्नुले अब ग्रिन कार्डमा केही कडाई हुने खोजेको अनुमान लगाउन सकिन्छ । अनलाइनखबर