दिङ्लाबाट राहदानी वितरण शुरु

भोजपुर– इलाका प्रशासन कार्यालय दिङ्लाबाट राहदानी वितरणको शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । भोजपुर सदरमुकामसम्म आउनको लागि स्थानीयवासीलाई समस्या भएपछि दिङ्लाबाट नै सेवा दिन थालेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

राहदानी वितरण शुरु भएसँगै सो क्षेत्रका बासिन्दाले भोजपुर सदरमुकामसम्म धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । दिङ्ला इलाकाबाट षडानन्द नगरपालिकाका १४ वडा र साल्पासिलिछो गाउँपालिकाका–६ गरी २० वडाका बासिन्दाले सेवा लिँदै आएका छन् ।

सेवा क्षेत्रको केन्द्र भागबाट नै राहदानी वितरणको काम शुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । स्थानीय मकर तामाङले भने, “भोजपुर सदरमुकामसम्म जाँदा दुई÷तीन दिनसम्म समय लाग्थ्यो, अहिले घर नजिकैबाट सेवा पाउँदा हामी एकदम खुशी भएका छौँ ।” राहदानीका लागि सदरमुकामसम्म जानुपर्ने झन्झट हटेपछि समय र पैसा दुवैको बचत भएको तामाङको भनाइ छ ।

विसं २०५६ मा स्थापना भएको इलाका प्रशासनले नागरिकता वितरण, नाबालकको परिचयपत्र, आदिवासी, जनजाति, दलित समुदाय कागजात प्रमाणितसँगै राहदानी सिफारिशलगायतको काम गरिरहेको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयले गत पुस १ गतेबाट वितरण शुरु गरेको हो ।

घुम्ती शिविरमा ८०० लाई सेवा

पौवादुम्मा गाउँपालिकामा घुम्ती शिविरमार्फत ८०० बढीले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय भोजपुरको आयोजनामा भएको शिविरमार्फत ८३२ जनाले विभिन्न कार्यालयको सेवा एक साथ लिएका हुन् ।

शिविरमा १२७ जनालाई नागरिकता वितरण, १७९ जनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण, आयुर्वेदअन्तर्गत ३४ जनालाई योग र ३७ जनालाई जडीबुटीसम्बन्धी तालीम, १२७ जनाको मतदाता नामावली दर्ता, घरेलु तथा साना उद्योगमार्फत तीन वटा उद्योग र ११ व्यवसाय दर्ता भएका छन् ।

त्यस्तै कृषि ज्ञान केन्द्रबाट ३१ जनाको बाली उपचार तथा निःशुल्क जैविक विषादी वितरण र ६० जनालाई प्राविधिक परामर्श, आठ जनालाई अपाङ्गता परिचयपत्रका लागि सिफारिश र २१५ जनालाई रुद्राक्षको बिरुवा वितरण गरिएको सहायक प्रमुख लिल्ला अधिकारी प्रयास भट्टराईले जानकारी दिनुभयो ।

गाउँमै सेवा पाएपछि स्थानीय पनि खुशी भएका छन् । शिविर पौवादुङमा गाउँपालिका–४ वास्तिम वडा नं ५ सानोदुम्मा र ६ ठुलोदुम्माको सहयोगमा सञ्चालन गरिएको हो । बुधबारबाट शुरु भएको शिविर बिहीबार सम्पन्न भएको हो ।