चौधरीको शपथबारे सुदूरपश्चिम इन्चार्ज भीम रावललाई नै थाहा दिइएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सुदूर पश्चिमका इन्चार्ज भीम रावलले कैलाली घटनाका अभियुक्त रेशम चौधरीलाई शपथ खुवाएर के गर्न खोजिएको हो आफूले कुरा नबुझेको बताएका छन् ।

‘‘म सुदूर पश्चिमबाट प्रतिनिधित्व गर्ने नेता र सो क्षेत्रको इन्चार्ज समेत भएकाले मलाई त्यसबारेमा जानकारी हुनुपर्ने तर केही नै जानकारी भएन । सचिवालयका सदस्यहरुलाई पनि सोधें । उहाँहरुसँगपनि यसबारेमा कुरा भएको रहेनछ । त्यसैले किन यस्तो गरियो भनेर अचम्म लागेको छ,”  रावलले भने ।

रावलले यसअघि चौधरी जघन्य अपराधमा संलग्न रहेकाले उनलाई शपथ खुवाउन नहुने धारणा सार्वजनिक गर्दै आएका थिए । रावलले पछिल्लो घटनाक्रम स्मरण गर्दै भने,‘‘हालैको पार्टीको स्थायी कमिटीको बैठकमा महत्वपूर्ण निर्णय गर्दा पार्टीमा छलफल गरेर मात्रै गर्नुपर्ने कुरामा सहमति भएको थियो । तर अहिले अचानक यस्तो निर्णय गरिएकोमा अचम्म्ममा परेको छु । मैले यसबारेमा कुरै बुझेको छैन ।’’

चौधरीको शपथलाई लिएर सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना गर्ने क्रम बिहीबारदेखि नै छ । बिहीबार अचानक डिल्लीबजारस्थित सदरखोर कारागारबाट प्रहरीको भ्यानमा सिंहदरबार लगिएका चौधरीलाई सांसदको शपथ ग्रहण गराएपछि फेरि सदरखोर जेलमै लगिएको छ । बिहीबार संघीय संसद सचिवालयमा सभामुख कृष्णबहादुर महराले उनलाई शपथ गराएका थिए ।

कैलाली जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सांसद पदको सपथ खाए पनि उनको पद स्वतः निलम्बन हुने कानुनी प्रावधान रहेको छ ।

प्रतिनिधिसभा नियमावली २४४ को उपनियम ४ मा फौजदारी मुद्दामा अदालतको अन्तिम फैसला नआएसम्म कैदमा बसेका व्यक्तिको सांसद पद स्वतः निलम्बन हुने उल्लेख छ । त्यस्तै प्रतिनिधिसभा नियमावली २४४ को उपनियम ३ मा नैतिक पतन देखिने मुद्दामा थुनामा रहेका सदस्यले सांसदको हैसियतमा काम गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ । चौधरीमाथि टीकापुर घटनाको मुख्य योजनाकार भएको दाबीसहितको मुद्दा अदालतमा विचाराधीन छ । उक्त घटनामा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको हत्या भएको थियो ।

घटनाका मुख्य आरोपी चौधरीले प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकै अवस्थामा वारेशमार्फत् प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय जनता पार्टीका तर्फबाट उमेदवारी दिएका थिए । वारेशमार्फत् उमेदवारी दिएर चुनाव लडेका चौधरी भारी मतान्तरले विजयी भएका थिए ।

उनले ३४ हजार ३ सय ४१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी तत्कालिन नेकपा एमालेकी मदनकुमारी शाहले १३ हजार ४ सय ६ र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत प्राप्त गरेका थिए ।