चिहानमा सँगै गाडिएका यी एक जोडी कङ्कालले प्राचीन भारतबारे खोलेका रहस्य

झन्डै ४५ सय वर्षअघि एक महिला एक पुरुषलाई संसारकै एउटा पुरानो नगरीय सभ्यता भएको मानिने प्राचीन हडप्पाको एउटा बस्तीबाहिर रहेको समाधिस्थलमा गाडिएको थियो।

सन् २०१६ मा भारत र दक्षिण कोरियाका पुरातत्त्वविद् र वैज्ञानिकहरूले यी दुर्लभ अस्थिपञ्जर फेला पारेका थिए। अस्थिपञ्जर भेटिएको स्थान अहिले उत्तर भारतीय राज्य हरियाणाको राखीगढी गाउँमा पर्छ।

ती महिला र पुरुषको समयक्रम र मृत्युको सम्भावित कारणबारे दुई वर्षसम्म अध्ययन गरियो। वैज्ञानिकहरूले गरेको अनुसन्धान अहिले एउटा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएको छ।

अनुसन्धान टोलीको नेतृत्व गरेका पुरातत्त्वविद् वसन्त शिन्देका अनुसार ती महिला र पुरुष निकै घनिष्ठ तरिकाले एकअर्कातिर फर्किएका थिए र उनीहरू दम्पती भएको अनुमान गरिएको छ।

उनी भन्छन्, “उनीहरू एकै समयमा मरेको जस्तो देखिन्छ। तर उनीहरूको मृत्यु कसरी भयो भन्ने चाहिँ रहस्य नै छ।”

उनीहरूलाई आधा मिटर गहिरो बलौटे खाल्डोमा गाडिएको थियो।

मृत्यु हुँदा पुरुषको उमेर झन्डै ३८ वर्ष र महिलाको झन्डै ३५ वर्ष थियो। उनीहरू अग्लो कदकाँठीका थिए। पुरुषको उचाइ ५.८ फिट र महिलाको ५.६ फिट थियो।

हड्डी र खप्परको परीक्षण गर्दा चोटपटक र रोग नदेखिएकाले सम्भवत: उनीहरू मृत्युको समयमा स्वस्थ नै थिए।

यो फरक खालको ‘संयुक्त चिहान’ सो समयमा चलेको अन्तिम संस्कार गर्ने विशेष शैली अनुसारको भने नभएको पुरातत्त्वविद्हरूको भनाइ छ।

ती महिला र पुरुषको मृत्यु एकै समयमा भएकाले तिनलाई एउटै चिहानमा गाडिएको हुनसक्ने विश्वास उनीहरू गर्छन्।

अन्यत्र भेटिएका प्राचीन चिहान

प्राचीन संयुक्त चिहानहरूले सधैँ जिज्ञासा सिर्जना गर्छन्।

इटलीस्थित एउटा नियोलिथिक अर्थात् पछिल्लो ढुङ्गेयुगको चिहानमा पुरातत्त्वविद्हरूले अँगालो हालेको अवस्थामा महिला र पुरुषको अवशेष फेला पारे।

रुसमा भेटिएको अर्को संयुक्त चिहानमा हात समातेर एकअर्कातिर फर्किएको अवस्थामा महिला र पुरुष देखिन्छन्।

ग्रीसमा भेटिएको झन्डै छ हजार वर्ष पुरानो कङ्कालमा महिला र पुरुषका हात र खुटा बेरिएका छन्।

राखीगढीको चिहानको विशेषता

पुरातत्त्वविद्हरूले राखीगढीको चिहानमा भेटेका केही माटोका भाँडा र पत्थरका गहनाबाहेक अरू वस्तुहरू तत्कालीन हडप्पाका अन्य समाधिस्थलमा जस्तै सामान्य मानिन्छन्।

‘अर्ली इन्डिअन्स: द स्टोरी अफ आवर एन्सेस्टर्स एन्ड व्हेयर ह्वी केम फ्रम’ नामक पुस्तकका लेखक टोनी जोसेफ भन्छन्, “हडप्पाका चिहानहरूको विशेषता भनेको तिनको सरलता हो। पश्चिम एशियाका राजाको जस्ता उनीहरू भव्य चिहान बनाउँदैनथे।”

प्राचीन मेसोपोटेमियामा राजाहरूलाई चिहानमा बहुमूल्य गहना र अन्य सामग्रीसहित गाडिन्थ्यो। चाखलाग्दो कुरा के भने सम्भवत: हडप्पाबाट निर्यात गरिएका इन्द्रगोप (कार्लनिल्यन), राजावर्त (लापिस लाज्युलाई) र टर्कोइज जस्ता बहुमूल्य पत्थरबाट बनेका गहनाहरू मेसोपोटेमियाका चिहानमा भेटिएका छन्।

हडप्पाका नगरमा भेटिएका चिहानहरूमा भाँडाकुँडा, खाद्यपदार्थ र केही गहना हुन्थे। त्यहाँका मानिसहरू सम्भवत: मृत्युपछि पनि जीवन हुन्छ भनेर विश्वास गर्थे र ती सामग्रीहरू चिहानमा चढाइएका थिए।

जोसेफका अनुसार त्यसरी चढाइएका धेरै भाँडाकुडामा परिकारका चित्रहरू हुन्थे। “तर त्यहाँ राजसी अन्तिम संस्कारको सङ्केत केही कुरा पनि हुँदैथ्यो।”

चिहानमा भेटिएको त्यो रहस्यमय जोडी दशौँ हजार मानिसहरू बस्ने गरेको र १२०० एकड अर्थात् झन्डै ९६०० रोपनी क्षेत्रमा फैलिएको एउटा बस्तीका बासिन्दा थिए।

अरू प्राचीन चिहानहरू

भारत र पाकिस्तानमा गरेर प्राचीन हडप्पाका झन्डै दुई हजारवटा पुरातात्त्विक स्थान भेटिएका छन्।

तीमध्ये राखीगढी पाकिस्तानमा रहेको मोहन्जो दडोभन्दा पनि ठूलो छ।

हडप्पाको अवशेष सर्वप्रथम सन् १९२० को दशकमा भेटिएको थियो र सो नगरबारे धेरै अध्ययन भएको छ।

पुरातत्त्वविद्हरूले हडप्पामा महिला र पुरुषको जोडीको चिहान भेटेको यो पहिलो पटक हैन।

सन् १९५० को दशकमा गुजरातस्थित लोथलमा एउटा बलौटे खाल्डोमा महिला र पुरुषका अवशेष भेटिएको थियो। एउटा शरीर अर्को शरीरमाथि खप्टिएर उनीहरूलाई गाडिएको थियो।

महिलाको खप्परमा चोटपटक लागेको थियो।

केही उत्खननकर्ताहरूले पतिको मृत्युपछि शोकाकुल महिलाले आत्महत्या गरेको विवादास्पद दाबी गरेका थिए। तर त्यो दाबी प्रमाणित हुन सकेन।

राखीगढीको समाधिस्थलमा ७० वटा चिहान भेटिएका छन्। सो स्थान बस्तीभन्दा एक किलोमिटर पर छ।

अहिलेसम्म ४० वटा चिहानको उत्खनन गरिएको छ। तर यो “रहस्यमय जोडी” को चिहान अरूभन्दा रोचक मानिएको छ। बीबीसी