नानो कारको अन्त्य

मुम्बई– विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गरिआएको थियो ।

अर्को वर्षको अप्रिलदेखि नानो कारको उत्पादन र बिक्री गर्न लागेको टाटा मोटर्सले जनाएको छ । भारतीय उपभोक्ताले त्यति नरुचाएको यस कारको उत्पादन लागत बढी रहेको बताइन्छ ।

“हामी नानो कारमा थप सुधार गर्न लगानी थप्ने स्थितिमा छैनौँ,” टाटा मोटर्सका अध्यक्ष मयङ्क पारीकले हैदराबादमा बताए ।

टाटाले सन् २००९ मा निकै तामझामका साथ नानो कार बजारमा ल्याएको थियो । बजारमा शुरुका दिनमा यसको बजार मूल्य दुई हजार २०० अमेरिकी डलर थियो ।

भारतीय प्रसिद्ध उद्योगी एवं टाटा समूहका पूर्वअध्यक्ष रतन टाटाको योजनामा उक्त कारको उत्पादन थालिएको थियो । ठूलो सङ्ख्याका भारतीयलाई सस्तोमा कार दिने सपना उहाँमा थियो । अहिले ८१ वर्ष पुगिसकेका रतनमा मोटरसाइकल, स्कुटर जस्ता दुई पाङ्ग्रे सवारी चढ्ने ठूलो सङ्ख्याका भारतीयलाई कार चढाउने तीव्र इच्छा थियो ।

विश्लेषकहरू पनि रतनको योजनामा सहमत देखिन्थे, किनभने लाखौँ भारतीयलाई यो कार बरदान साबित हुने अपेक्षा थियो । त्यसलगत्तै, विश्वभर यो कारले ‘विश्वकै सस्तो कार’ को उपनाम पाएको थियो । तर, यो कारको बिक्रीमा मन्दी आयो । “यो मार्केटिङमा भएको असफलता हो,” अटोकार इण्डिया म्यागजिनका सम्पादक होरमाज्द सोब्रब्जीले बताए । “यो कारलाई गरिबको कार भनियो र भारतीयहरू आफ्नो इज्जत, प्रतिष्ठाप्रति ज्यादै सचेत छन् । मोटरसाइकलको विकल्पमा यो कारले बजार लिन सक्थ्यो, तर बजार प्रबद्र्धन त्यस किसिमबाट भएन ।”

यो कारमा सुरक्षा पनि अर्को चासोको विषय थियो । कारको इन्जिनमा आगलागीका कैयौं घटना भएका थिए ।

शुरुका दिनहरूमा यो कार प्रतिमहिना २५ हजार थान बिक्री गर्ने योजना थियो, तर एक दुई वर्षभित्रै यसको प्रति महिना बिक्री सयमा झरेको थियो ।

सन् २०१३ मा टाटा मोटर्सले बिक्री बढाउन यो कारमा स्तरोन्नति गरेको थियो । भारतमा नानो समेतका सानो मोडेलका अरू कारहरूको पनि बिक्री बढ्न सकेन । “एउटा सपनाको अन्त्य,” दैनिक पत्रिका मिन्टको मुख्य समाचारको शीर्षकमा भनिएको छ । एजेन्सीको सहयोगमा