भेनेजुएलामा पाँच विदेशी पत्रकार पक्राउ

कारकास (रासस/एएफपी)– विपक्षीले गरेको प्रदर्शनको समाचार सङ्कलन गरेका पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ ।

राष्ट्रपति निकोलास मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन् ।

सरकारी पक्षले भेनेजुएलाको सङ्कटपूर्ण अवस्थाका बारेमा रिपोर्टिङ गरेका चिलीका दुई जनालाई निर्वासित गरेका छन् ।

सरकारी नियन्त्रणमा पर्ने पत्रकारमा फ्रान्सका दुई जना, कोलम्बियाका दुई जना र स्पेनका एक जना रहेका छन् ।

उल्लेखितमध्ये पछिल्ला तीन जना स्पेनको राष्ट्रिय समाचार संस्था इफेका लागि काम गर्दै आएका छन् भने कम्बोडियाबाट आएका सबैजना भेनेजुएलामा उत्पन्न अस्थिरत स्थितिको रिपोर्टिङकै लागि आएका हुन् ।

पक्राउ परेका दुई फ्रान्सेली पत्रकार एउटा टिभी कार्यक्रमका लागि काम गर्दै आएका थिए । उनीहरुलाई सघाइ रहेका यस कार्यक्रमका उत्पादक एक जना स्थानीयलाई पनि सरकारी पक्षले नियन्त्रणमा लिएको छ ।

अन्य दुई जना चिलीका टेलिभिजन पत्रकारलाई पनि मङ्गलबार नै भेनेजुएलाको सरकारी पक्षले देश निकाला गरिदिएको चिलीका विदेशमन्त्री रोबर्टो अम्पुएरोले बताए ।

संवेदनशील मानिने “सुरक्षा क्षेत्र”मा काम गरेको भन्दै उनीहरुलाई पक्राउ गर्न थालिएको समाचारमा जनाइएको छ ।

“यो तानाशाही काम भयो, स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोजियो,” चिलीका मन्त्री रोबर्टोले ट्वीटरमा लेखका छन् ।

पछिल्ला केही बर्षमा धेरै पत्रकारलाई नियन्त्रणमा लिने तथा देश निकाला गर्ने कार्य भइरहेको भन्दै आलोचना भएको छ ।

पत्रकारलाई पक्राउ गरिएको बारेमा भेनेजुएलाका विदेश मन्त्री जर्ज एर्रेजाले बुधबार केही उल्लेख गर्नु भएन तर धेरै विदेशी पत्रकार रिपोर्टिङ गर्ने अनुमति बिना देश छिरेको बताए ।

विपक्षी नेता हुवाँ गुएइदोले केही दिन अगाडि आफैँले आफँैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा थप राजनीतिक सङ्घर्ष चर्किएको छ ।

मङ्गलबार मात्रै सर्वोच्च अदालतले गुएइदोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको जनाएको छ ।

लामो राजनीतिक सङ्घर्षका कारण चरम आर्थिक सङ्कट भोगिरहेको भेनेजुएलामा राजनीतिक द्वन्द्व थप बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन् ।

विपक्षीहरुले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर निकोलास मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि विवाद थप चर्किएको हो ।

निर्वाचन निस्पक्ष हुन नसक्ने भन्दै विपक्षीले निर्वाचन बहिस्कार गरेका थिए । विवादित निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि उहाँले यही जनवरी १० मा शपथ ग्रहण गर्नु भएको थियो । उहाँको सपथसँगै देशभरि विरोध प्रदर्शन भएका थिए ।

त्यस निर्वाचनलाई अवैध र अमान्य भनेका अमेरिका, युरोपली देशलगायतले अहिले पनि मदुरोलाई अस्वीकार गर्दै विपक्षी नेता गुएइदोलाई समर्थन जनाएका छन् ।

चीन र रुसलगायतका देशले भने निकोलासलाई नै मान्यता दिँदै विद्रोही नेता गुएइदोको विपक्षमा उभिएका छन् ।