क्यालिफोर्नियामा विमान घरमा ठोक्कियो

क्यालिफोर्निया– एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ ।

वर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा विमान र योर्वा लिन्डाको एक घरमा आगलागी भएको थियो र विमान चालक र उक्त घरमा रहेका चार जनाको आगोले जलेर मृत्यु भएको छ, अरेन्ज जिल्लाका अधिकारी लेफ्टिनेन्ट कोरी मार्टिनोले विमान दुर्घटनापछि गरेको पत्रकार सम्मेलनमा बताए । मृतकमध्ये विमान चालकसहित तीन जना पुरुष र दुई महिला रहेका पुष्टि भएको छ तर उनीहरूको थप परिचय तत्काल सार्वजनिक गरिएको छैन ।

सेस्ना ४१४ए नम्बरको विमान फुलेर्टन नगरीय विमानस्थलबाट पश्चिममा रहेको योर्बा लिन्डाका लागि उडेको सङ्घीय नागरिक उड्डयन प्रशासन कार्यालयका प्रवक्ता एलेन केनिट्जरले बताए ।

प्रत्यक्षदर्शीका अनुसार विमानको एउटा इन्जिन र मुख्य क्याबिन दुईतले घरमा ठोक्किएपछि ठूलो आगोको मुस्लो निस्किएको र घरमा रहेका दुई जनालाई सख्त जलेको अवस्थामा जीवितै उद्धार गरी उपचारका लागि पठाइएको छ ।

जोन वोलबार्टले भने, “ठूलो विस्फोटको आवाजपछि विमान र घरमा आगो लागेपछि हामी घरबाट बाहिर निस्क्यौँ । विमान सँगैको घरमा ठोक्ँिकदा सँगै रहेको हाम्रो घरमा पनि निकै हल्लियो । बाहिर निस्केर हेर्दा आगोको मुस्लोले घरलाई डढाइसकेको थियो ।”

घरबाट एक महिला डढ्दै गरेको कपालसहित घरबाट निस्किन भने एक जनालाई पछि उद्धार गरिएको थियो । उनीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ ।

ट्विटरमा पोष्ट गरिएको भिडियोमा विस्फोटको आवाजपछि अतालिँदै नजिकका घरहरूबाट बाहिर निस्केका स्थानीयलाई देखिएका छन् ।