विषाक्त रसायन नदीमा फाल्दा दुई हजार मलेसियाली बिरामी

क्वालालमपुर– मलेसियामा ४० टनभन्दा बढी फोहोर नदीमा फालेपछि यसबाट फैलिएको प्रदूषित हावाका कारण कैयौँ बालबालिकासहित झण्डै दुई हजार व्यक्ति बिरामी भएका छन् ।

स्थानीय अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार नदीको पानीमा मिसाइएको विषाक्त रसायनबाट निस्केको ग्यास वातावरणमा फैलिँदा मलेसियाको दक्षिणी जोहोर राज्यमा ठूलो सङ्ख्यामा स्थानीय नागरिक बिरामी परेका हुन् । हावामा विषाक्त ग्यास फैलिएका कारण बालबालिका तथा वृद्धवृद्धामा यसको प्रभाव बढी परेको बताइएको छ ।

घटनापछि जोहोर राज्यमा रहेका झण्डै दुई सय विद्यालय तथा पूर्व प्राथमिक विद्यालय बन्द गरिएको छ । गत हप्ता फालिएको विषाक्त पदार्थले असर गर्नसक्ने देखिएपछि ती शैक्षिक संस्थाहरु बन्द गरिएको अधिकारीहरुले जनाएका छन् ।

विषाक्त पदार्थले असर गरेका व्यक्तिहरुलाई अरुची हुने, टाउको दुख्ने, बान्ता हुनेलगायतका समस्या देखिएको छ । बिरामी भएकामध्ये केहीको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

विषाक्त पदार्थका कारण दुई हजार ३५५ जना बिरामी भएकोमा ११३ जना अझै पनि उपचारका लागि अस्पतालमै रहेको उनीहरुको भनाइ छ । अहिलेसम्म मृत्यु भने कसैको पनि नभएको अधिकारीहरुले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री महाथिर मोहम्मदले बिहीबार नै बिरामीहरुलाई उपचार गराइएको ठाउँमा पुगेर भेट्नुका साथै अवस्थाका बारेमा जानकारी लिएका छन् । उनले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई प्राथमिकता र गम्भीरतापुर्वक ती बिरामीहरुले उपचार गर्न आग्रह गर्दै सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन पनि दिए ।

बिरामी र स्वास्थ्यकर्मीहरुलाई भेटेपछि प्रधानमन्त्रीले भनेका छन्, “उनीहरुले आफ्नो काम राम्रोसँग गरेका छन्, तै पनि केही बिरामीहरुको अवस्था गम्भीर नै रहेको पाइयो ।”

औद्योगिक शहर पासिर गुडाङको नदीमा भएको यो समस्या अन्यत्र फैलिन र थप अरूलाई असर पर्न नदिन तत्काल समाधान गर्ने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।

घटनामा दोषी भएको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिइएको र उनीहरु दोषी ठहरिएमा वातावरण संरक्षणसम्बन्धी ऐनअनुसार पाँच वर्षसम्म जेल सजाय हुनसक्ने बताइएको छ । एजेन्सीको सहयोगमा