वागमतीमा नयाँ प्रविधिले सफाइ गरिने

काठमाडौँ– नयाँ प्रविधिको उपयोग गरी पशुपति क्षेत्रको गुह्येश्वरीबाट तिलगङ्गासम्मको भागमा कञ्चन पानी बगाइने भएको छ ।

यसका लागि पशुपति क्षेत्र विकास कोषले बायो शौचालय प्रविधि ल्याएको छ । प्रविधिले कति काम गर्छ भनी सम्भाव्यता अध्ययन गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । पशुपति क्षेत्रमा शुद्ध पानी बगाउने उद्देश्यले विसं २०५१ देखि नै अधिकार सम्पन्न वाग्मती समितिको स्थापना गरी काम गरे पनि आशातीत सफलता हासिल हुन सकेको छैन ।

कोषले अधिकार सम्पन्न वाग्मती समितिसँग समेत सहकार्य गरेर पशुपति क्षेत्रमा नयाँ प्रविधि उपयोग गर्न लागेको हो ।

नयाँ प्रविधिको उपयोग गरी यो क्षेत्रको वाग्मतीमा पानीको बहाव पनि बढाइनेछ । पशुपति क्षेत्रमा शौचालयको फोहर त्यहीँ सफाइ गरी पानीमात्र बाहिर निकाल्ने गरी प्रविधि जडान गर्न लागिएको हो । सम्भाव्यता अध्ययन समूहले कति क्षेत्रमा यो प्रविधिले काम गर्छ भनी प्रतिवेदन कोषलाई बुझाएपछि काम शुरु हुने कोषले जनाएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु गर्दाको पहिलो लक्ष्य पशुपतिसम्मको नदीलाई स्नानयोग्य बनाउने थियो । अभियानका क्रममा कहिले नदी सफा हुने र माथिल्लो भागमा ढल लगायत फोहर मिसाउँदा फेरि दुर्गन्धित भई माछा समेत बाँच्न नसक्ने भइरहेको छ ।