खप्तड आउने पर्यटक बढे

डोटी– भूस्वर्गका रुपमा चिनिने सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन उल्लेख्य रुपमा बढेको छ । यहाँका हराभरा लेक, तालतलैया र आनन्ददायी बासस्थानले पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ बाह्यभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । खप्तड क्षेत्रमा यस वर्ष बाक्लो हिमपात भए पनि पर्यटक घटेन ।

डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्र खड्काले खप्तड क्षेत्रमा पर्यटक आउने क्रम दिनहुँ बढिरहेको बताए । खप्तड क्षेत्रमा पर्ने पुविर्चौकी गाउँपालिका निवासी खड्काले भने – “खप्तड पर्यटकको आर्कषणको केन्द्र बन्दै गएको छ । अहिले झन् बाक्लो हिमपात भएपछि त्यो हेर्न पनि पर्यटक आउन थालेका छन् ।”

चालू आर्थिक वर्षको अहिलेसम्म ४५ जना जति विदेशी पर्यटक भित्रिएको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए । खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी मात्रामा अवलोकन तथा भ्रमणमा आउने गरेको निकुञ्जले जनाएको छ । ती पर्यटकबाट चालु आर्थिक वर्षको सात महिनामा दुई लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको छ । आन्तरिक पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । निकुञ्जले बाह्य पर्यटकसँग प्रतिव्यक्ति ३ हजार ३९० रुपैयाँ भ्रमण शुल्क लिने गरेको छ । निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै विभिन्न जङ्गली जनावरसमेत हेर्न पाइन्छ । यहाँ रहेका त्रिवेणीधाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायतका क्षेत्रको भ्रमण गरी भरपूर मनोरञ्जन लिन सकिन्छ । निकुञ्ज संरक्षणका लागि चार ठाउँमा इलाका कार्यालय राखिएका छन् ।

खप्तड क्षेत्रमा जेठ महिनामा गङ्गा दशहरा मेला र जनै पूर्णिमाका दिन भव्य जात्रा लाग्ने गर्दछ । जात्रा हेर्न सुदूरपश्चिमका विभिन्न जिल्ला र अन्य क्षेत्रबाट समेत पर्यटकको घुइँचो लाग्ने गरेको बग्लेकका स्थानीयवासी धनबहादुर विष्टले बताए । उनले भने – “खप्तडमा पहिले पहिलेको वर्ष जात्राको समयमा हजारौं पर्यटक आउँथे । यो वर्ष त जात्राको समय भन्दा पनि अहिले बढी पर्यटक आए ।” खप्तड क्षेत्रमा आउने पर्यटकको सुविधा र सहजताका लागि डोटीको पुविर्चौकी गाउँपालिका तथा खप्तड पर्यटन विकास समितिको पहलमा बिचपानीसम्म सडक सुविधा पु¥याइएको छ । बिचपानीबाट भने पर्यटकको मागअनुसार घोडा चढ्ने व्यवस्था मिलाइएको पुविर्चौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । उनले भने – “हामीले बिचपानीसम्म सडक सुविधा पु¥याउन सफल भएका छौँ । त्यहाँबाट पर्यटकको माग बमोजिम घोडाको पनि व्यवस्था मिलाउन सक्छौँ ।”

खप्तड क्षेत्रमा पर्ने त्रिवेणीधाम, नागढुङ्गा, सहस्र लिङ्ग, खप्तड ताल घुमेपछि पर्यटकले आनन्दको अनुभूति गर्ने गरेको खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । उनले भने – “एक चोटि खप्तड घुम्न आउने पर्यटक अर्को पल्ट नआई रहनै सक्दैन । खप्तडसँग मन लोभ्याउने शक्ति छ ।”

खप्तड पर्यटन क्षेत्रको विकासका लागि यहाँका स्थानीय तहले सक्दो पहल गरे पनि केन्द्र र प्रदेश सरकारले खासै कार्यक्रम नल्याएको स्थानीय बासिन्दाको आरोप छ । केन्द्र र प्रदेश सरकारको बजेट आएको भए खप्तड झनै सुन्दर हुने उनीहरुको भनाइ छ । खप्तड क्षेत्रमा रहेको खप्तड स्वामीको आश्रमको संरक्षण तथा सम्बद्र्धन स्थानीय तह, नेपाली सेना, स्थानीयवासी र खप्तड पर्यटन विकास समितिले गरिरहेका छन् । त्यस्तै, खप्तड क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन खप्तड प्रवेश द्वार बग्लेकमा होमस्टे सञ्चालनको तयारी थालिएको छ । डोटीको पुविर्चौकी गाउँपालिका, होटल व्यवसायी सङ्घ डोटी र पुविर्चौकी गाउँपालिका वडा न २ को संयुक्त लगानीमा बग्लेक गाउँका १० घरधुरीबाट होमस्टे शुरु गर्न लागिएको हो । होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष दीपकबहादुर खड्काका अनुसार बग्लेकमा तत्कालै ठूला होटलहरु सञ्चालनमा ल्याउन कठिन भएकाले होमस्टेका माध्यमबाट पर्यटकलाई सुविधा दिन घरहरु छनोट गरिएको छ ।

खप्तड क्षेत्र खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो । खप्तड बाबाले खप्तडमा ५० वर्ष बिताएको भनिन्छ । खप्तड बाबा आश्रममा बाबाको मूर्तिका साथै उनले प्रयोग गर्नुभएका केही सामान छन् । यस ठाउँमा बसेर बाबाले योग र ध्यान गर्नुभएको थियो र कृतिहरु रच्नुभएको थियो । उहाँका धर्म विज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारी धर्म र पुरुष धर्म, आत्मज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायतका कृति प्रकाशित छन् ।

खप्तड राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गम स्थलमा अवस्थित छ । यसको क्षेत्रफल २२५ वर्ग किलोमिटर छ । समुद्र सतहदेखि ३ हजार ५०० मिटरसम्मको उचाइमा रहेको यो निकुञ्जभित्र ५६७ थरीका वनस्पति र नेपालमा पाइने ८५० किसिमका चराचुरुङ्गीमध्ये २६० भन्दा पनि बढी चराचुरुङ्गी पाइने गरेको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले बताए । उनका अनुसार खस्रे भ्यागुता र बझाङ्गे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, दुर्लभ जातिको हरियो छेपारा र बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । बाह्रै महिना पानीको सतह एकैनासको हुने विशेषता बोकेको १५० मिटर लामो र ५० मिटर चौडा खप्तड दह पनि यहाँ छ । यस अतिरिक्त यहाँ ५२ वटा ताल (दह) छन् ।

निकुञ्जमा कस्तुरी, मृग, बँदेल, डाँफे, जरायो, रतुवा, थरल, घोरल, चितुवा, भालु, बाँदर, ढेडु बाँदर, दुम्सी, खरायो लगायतका जङ्गली जनावर पाइन्छन् । प्रकृतिले नै रमाइलो बनाइदिएको यस ठाउँमा ठूल्ठूला घाँसे मैदान, स–साना ढिस्का र रमाइलो जङ्गल रहेको छ । घाँसे मैदानहरुमा गाई, गोरु, घोडा चरिरहेका देख्न सकिन्छ । खप्तड क्षेत्रमा चारैतिर घनघोर जङ्गल र बीचमा ठूल्ठूला फाँट छन् । जैविक विविधताले भरिएको यो क्षेत्र २०४० सालदेखि निकुञ्ज बनेको हो । यस क्षेत्रको सुरक्षाका लागि २०४७ सालदेखि नेपाली सेनाको छावनी स्थापना गरिएको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ । खप्तडमा २०० भन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटी पाइन्छन् । मङ्सिरदेखि फागुन महिनासम्म यो ठाउँ हिउँले ढकमक्क हुने गर्छ ।

खप्तड पुग्ने धेरै बाटाहरु भए पनि डोटीको बग्लेक हँुदै जाने बाटो बढी चलनचल्तिमा छ । पहिलो दिन काठमाडौंबाट हवाइजहाज वा बसबाट धनगढी पुग्ने हो । धनगढीबाट डडेल्धुराको स्याउले बजार हुँदै डोटीको सदरमुकाम सिलगढी पुग्न बसबाट करीव सात घण्टा लाग्छ । सिलगढीबाट बिचपानीसम्म करीव २ घण्टा कच्ची सडक गाडीबाट हिँडेपछि पैदल वा घोडा मगाएर खप्तड प्रस्थान गर्दा हुन्छ । बिचपानीबाट हिँडेपछि ठुल्ठूला चट्टान र घना जङ्गलको बाटो आउँछ । बाटोमा फुलेका रङगीचङ्गी फूलहरू नियाल्दै जाँदा केही घण्टामै त्रिवेणी मन्दिर पुगिन्छ । सिलगढीबाट हिँडेको दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्जमा आरामसँग पुग्न सकिन्छ । खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ ब्याग र खाना पकाउने सामानसँगै लिएर जानु उत्तम हुन्छ ।