सामाजिक सञ्जालको अभियानले एम्बुलेन्स भित्र्यायो

इलाम,चमैता– विभिन्न सामाजिक सञ्जालको प्रयोग गर्दै ‘जन्मभूमिको सेवा, विकासमा टेवा’ नामक अभियानबाट संकलित रकमले इलामको देउमाई नगरपालिका अन्तर्गत रहेको चमैतामा एम्बुलेन्स सेवा सञ्चालन भएको छ ।

‘चमैता सरोकार समाज’ संस्थाको पहलमा चमैतामा जन्मेर जन्मथलो भन्दा टाढा भएकाहरु र जन्मथलोमै रहेकाहरुले आफ्नै गाउँको विकासको लागि सामाजिक सञ्जालमार्फत अभियान चलाएर एम्बुलेन्स सञ्चालन गरेको हो ।

बुधबार देउमाई नगरपालिकाका मेयर सूर्य पोखरेलले चमैतामा एम्बुलेन्स सञ्चालनको औपचारिक रुपमा उद्घाटन गरेका छन् । एम्बुलेन्स उद्घाटन गर्दै मेयर पोखरेलले गाउँमा एम्बुलेन्स सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै चमैतालाई माया गरी यस अभियानलाई सफल बनाउने सवैलाई धन्यवाद व्यक्त गरे । अभियान सञ्चालन गर्ने ‘चमैता सरोकार समाज’ लाई आगामी दिनमा यस्तै अन्य सामाजिक सुधार र विकासका कार्यक्रमहरु गाउँमा ल्याउने हो भने नगरपालिकाले सँधै सहयोग गर्ने र त्यस्ता योजनाहरुमा नगरपालिकाले साझेदारी गर्न पनि तयार रहेको बताए ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम तथा स्वरोजगारमुलक विभिन्न क्षेत्रमा काम गर्दै विशेषगरि आफ्नो जन्मथलो चमैताको सेवा र विकासमा जुट्ने उद्देश्यका साथ ‘चमैता सरोकार समाज’ नामक संस्थाको स्थापना २०७४ सालमा काठमाडौंमा भएको हो भने यसको शाखा चमैता इलाममा छ । भौगोलिक विविधताले धनी, पर्यटनको प्रचुर सम्भावना बोकेको ऐतिहासिकता र उत्पादकत्व पनि राम्रो भएको गाउँ चमैता इलामका अन्य क्षेत्रभन्दा कम चर्चामा आउने गरेको कारण चमैतामा जन्मे–हुर्केका व्यक्तिहरुको सामूहिक प्रयासबाट आफ्नो ठाउँको विकासको लागि एक भएको ‘चमैता सरोकार समाज’का अध्यक्ष मन बहादुर गुरुङ बताउँछन् । गुरुङले दिएको जानकारीअनुसार एम्बुलेन्स खरिद गरेर झण्डै चार लाख हाराहारीमा सहयोग रकम मौज्दात रहेको र त्यो रकममा अरु थप गर्दै शिक्षा, पर्यटनलगायतका क्षेत्रहरुमा लाग्ने र चमैतामा तत्कालै आफ्नै संस्थाको भवन निर्माण गर्ने योजना रहेको छ ।

नौमती बाजासहित स्वागत र उद्घाटन भएको कार्यक्रममा उल्लेख्य मात्रामा स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो भने देउमाई नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष माधवकुमार वस्नेत, वडा नम्बर दुईका वडा अध्यक्ष भवानी साम्पाङ राई, वडा नम्बर तीनका वडा अध्यक्ष दावा तामाङ त्यस्तै देउमाइ नगरपालिका वडा नम्बर चारका वडा अध्यक्ष राजेन्द्र वास्तोलाको पनि उपस्थिती रहेको थियो भने फिदिम नगरपालिका बडा नम्बर चारका वडा अध्यक्ष प्रकाश गुरुङको पनि उपस्थिति रहको थियो । उपस्थित सवै वडा अध्यक्षहरुले शुभकामना व्यक्त गर्दै सहयोगको बचन दिए ।  चमैता सरोकार समाज उप समितिका अध्यक्ष अर्जुन वस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमा उप समितिका सचिव मीनराज श्रेष्ठले स्वागत गरे र सह–सचिव देवेन्द्र प्रकाश राईले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रममा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।  

उद्घाटनका केही फोटोहरु