गिरिजाबाबुको स्मृतिमा ‘दीप प्रज्वलन’

काठमाडौँ– लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । गिरिजाप्रसाद कोइराला अध्ययन केन्द्रले स्व कोइरालाको नवौँ स्मृति दिवसका अवसरमा आज साँझ माइतीघरमा दीप प्रज्वलन गरिएको हो ।

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकको शान्ति प्रक्रियामा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको बताए । “स्व कोइराला नेपाली काङ्ग्रेसको मात्र नेता नभएर मुलुककै नेता हुनुहुन्थ्यो,” उनले भने ।

उनले लोकतन्त्रका सम्बन्धमा गिरिजाबाबुले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताए । नेपाली काँग्रेसलाई उच्च स्थानमा पु¥याउन गिरीजाबाबुको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । नेता सिटौलाले कोइराला सहमति, सहकार्य र एकतामा जोड दिने बताउँदै वर्तमान सरकारले पनि सबै दलसँग सहमति गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीले निरकुंश राजतन्त्र र माओवादीलाई मिलाउन गिरीजाबाबुले महत्वपूर्ण भूमिका खेलेको बताए । “मुलुकमा अहिले गिरीजाबाबुजस्ता राजनेताको अभाव खड्कीएको छ,”–उनले भने ।