दासढुङ्गालाई पर्यटकीय नगरीका रुपमा विकास गरिने

काठमाडौँ– तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटना भएको स्थल दासढुङ्गा नारायणी नदी किनार क्षेत्रलाई धार्मिक पर्यटन तथा ऐतिहासिक राजनीतिकस्थलका रुपमा विकास गरिने भएको छ ।

नारायणी नदी किनार क्षेत्रलाई एकीकृत विकास गरी आकर्षक पर्यटकीय नगरीका रुपमा विकास गर्न ‘दासढुङ्गा नारायणी एकीकृत विकास परियोजना’का रुपमा अघि बढाइने भएको हो । उक्त आयोजनाले दासढुङ्गादेखि गोलाघाटसम्मको क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न गुरुयोजना तयार गरी परियोजना अघि बढाउनेछ ।

मदन भण्डारी फाउण्डेशन चितवनको अगुवाइमा सञ्चालन हुने आयोजनालाई नीति तथा योजना आयोग प्रदेश नं ३ र गण्डकी प्रदेशको सहयोग रहनेछ । विसं २०५० जेठ ३ गते जीप दुर्घटनामा परी नेताद्वय भण्डारी र आश्रितको दुःखद निधन भएको थियो । परियोजना सञ्चालनका लागि सरोकारवालाको रायसुझावका लागि आज यहाँ एक अन्तरक्रियाको आयोजना गरियो ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले दासढुङ्गा नारायणी एकीकृत विकास परियोजनालाई भावनामा मात्र नभई विषय विज्ञता र वस्तुनिष्ठताका आधारमा अघि बढाउन सुझाउँदै ठोस योजना आएमा सङ्घीय सरकारले सहयोग गर्ने वचन दिए । “दासढुङ्गासँग धेरै प्रसङ्ग गाँसिएको छ, योसँग हाम्रो जीवन यात्रा र विचार पनि जोडिएको छ, त्यसैले नारायणी किनार क्षेत्रको एकीकृत विकासका लागि स्थानीय सरोकारका विषयलाई प्राथमिकता दिनुपर्छ, भोलिका पुस्तालाई जानकारी गराउने खालका विषयवस्तुलाई समेटिनुपर्छ विवेकपूर्ण ढङ्गले परियोजनालाई अघि बढाइनुपर्छ ।”

उपप्रधानमन्त्री पोखरेलले मदन भण्डारी एमालेको महासचिव मात्र नभई कम्युनिष्ट आन्दोलन, राष्ट्रियता र सामाजिक परिवर्तनको आन्दोलनका लागि नवीन सोचका नेता भएको उल्लेख गर्दै उनको जीवन, योगदान र विचारलाई पुष्टि गर्ने सामग्रीलाई व्यवस्थित, सङ्गठित र सङ्ग्रहित गर्न जरुरी छ भने ।

फरक प्रसङ्गमा नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले पार्टी एकीकरणपछि कुन विचार र दर्शनलाई अघि बढाउने भन्ने सन्दर्भमा मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’लाई पार्टीको सिद्धान्तका रुपमा अघि बढाइनुपर्नेमा जोड दिए । “मदन भण्डारीका विचार र योगदानलाई अहिलेका पुस्ताले कसरी अघि बढाउने भन्ने चासो र चिन्ता छ । हामी दुईटा पार्टी मिलेर एउटा पार्टी बनायौँ जुन जनताको चाहना, कार्यकर्ताको चाहना र राष्ट्रको आवश्यकता थियो । अब, यो नयाँ पार्टी सुस्पष्ट विचारको शृङ्खलाबाट निर्देशित हुनुपर्छ, त्यो भनेको जनताको बहुदलीय जनवाद हो ।”

नीति तथा योजना आयोग प्रदेश नं ३ का सदस्य श्याम बस्नेतले मदन भण्डारी नेपाली राजनीतिमा मात्र नभई अन्तर्राष्ट्रियजगत्मा पनि चिरपरिचित व्यक्तित्व भएको उल्लेख गर्दै उनीसँग जोडिएको दासढुङ्गा नारायणी किनारलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्य बनाउन योजनाबद्ध विकास गरिने उल्लेख गरे ।

मदनभण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले दासढुङ्गा नारायणी परियोजनालाई प्रभावकारी बनाउन गुरुयोजनाका साथ काम अघि बढाइने र सो क्षेत्रमा अन्तर्राष्ट्रिय राजनीतिक अनुसन्धान केन्द्र, सामाजिक अनुसन्धान केन्द्र तथा मुख्य धार्मिक पर्यटकीय केन्द्रका रुपमा पूर्वाधार विकास गरिने जानकारी दिए ।