मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

वासिङ्टन– अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरिदिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गरेका थिए ।

राष्ट्रपति ट्रम्पको सीमा पर्खालका निम्ति संसदबाट बजेट स्वीकृत भएको छैन भने आपतकालीन घोषणाप्रति पनि अमेरिकी कङ्ग्रेसमा सहमति जुट्न सकेको छैन ।

विपक्षी डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिले संवैधानिक प्रावधानलाई दुरुपयोग गरी विशेषाधिकार (भिटो) प्रयोग गरेको भन्दै अदालतमा उजूरीसमेत दिएको छ ।

अमेरिकी गृह विभागले रक्षा मन्त्रालयलाई मेक्सिको सीमामा ९२ किलोमिटर पर्खाल निर्माण गर्न अनुरोध गरिसकेको छ । प्रस्तावअनुसार पर्खाल निर्माणसँगै सडकको स्तरोन्नति गर्ने तथा तारबार र प्रकाशको उचित व्यवस्था गरिने छ ।

ह्वाइट हाउसले सन् २०२० को बजेट प्रस्तावमा पर्खाल निर्माणका लागि महत्वाकाँक्षी करिब नौ अर्ब डलर माग गर्ने तयारी गरेको छ । यसै वर्ष राष्ट्रपति ट्रम्पले करिब छ अर्ब डलर माग गर्नुभएको थियो तर अमेरिकी संसदले राष्ट्रपतिको उक्त प्रस्ताव अस्वीकार गरिरहेको छ । एजेन्सी