‘देउमाई साहित्य, पर्यटन महोत्सव’ गरिने

इलाम– पर्यटकीय क्षेत्रको प्रवद्र्धन र स्थानीय वस्तुको प्रचारप्रसार गर्ने उद्देश्यले ‘देउमाई साहित्य, पर्यटन महोत्सव’ गरिने भएको छ ।

समाजका लागि युवाद्वारा देउमाई नगरपालिका–४ स्थित नागिडाँडामा चैत २३ र २४ गते आयोजना गर्नेे महोत्सवमा राष्ट्रियस्तरका साहित्यिक स्रष्टाको सहभागिता हुने छ । स्रष्टाका माध्यमबाट स्थानीयस्तरका पर्यटकीयस्थल र स्थानीय खानपानको प्रचारप्रसार गरी यहाँको पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागेको समाजका अध्यक्ष मोती गौतमले जानकारी दिए ।

कार्यक्रममा प्रदेशभरका कविले कवितावाचन गर्ने कार्यक्रम छ भने युवाको उत्प्रेरणाका लागि सङ्घर्षशील व्यक्तिको भोगाइसमेत प्रत्यक्ष व्यक्तिबाट सुनाइने छ । सङ्घर्षका कथाका लागि महोत्सवमा कान्तिपुर दैनिकका प्रधानसम्पादक नारायण वाग्ले, अभिनेता दयाहाङ राई र वरिष्ठ मूर्तिकार राजु पिठाकोटेको सहभागिता रहने छ । महोत्सवमा देउमाई क्षेत्रको १० वर्षे योजना र १० वर्षपछिको देउमाई क्षेत्रको पृष्ठभूमिका बारेमा जानकारी गराइने छ । महोत्सवमा युवा र अवको नेतृत्व शीर्षकमा युवा नेता योगेश भट्टराई र प्रदीप पौडेलसँग बहस कार्यक्रमसमेत राखिएको अध्यक्ष गौतमले जानकारी दिए ।

“युवाको माध्यमबाट पनि यस क्षेत्रमा केही काम गर्न सकिन्छ भन्ने बुझाउनका लागि युवा नेतासँगको कार्यक्रम राखिएको हो”, उनले भने, “पूर्वी क्षेत्र लिम्बूवानको पूर्खौली थलो भएकाले लिम्बू भाषा तथा साहित्यको कार्यक्रम समेत राखिएको छ ।”

यसैगरी इलाम क्षेत्र किन घुम्ने भन्ने शीर्षकमा प्रदेश सांसद राम राना, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठुरी र एकजना पर्यटनविद्ले जानकारी गराइने छ ।

महोत्सवमा स्थानीय पर्यटकीय क्षेत्र नागिडाँडा, गजुरमुखी धाम, सिद्धिथुम्का, जटेश्वोर, कुहिभीरको प्रचारप्रसार गरिने तथा गुफाथुम्की क्षेत्रबाट सूर्योदय एवम् सूर्यास्तको अवलोकन गराउने कार्यक्रम छन् ।