बिप्लव समूहका इलाम जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ

झापा– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

‘विप्लव’ समूहका केन्द्रीय सदस्य एवं इलाम जिल्ला इन्चार्ज होमप्रसाद खतिवडा र इलाम जिल्ला सेक्रेटरी दीपेन राईलाई आज झापा जिल्लाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको हो । ‘विप्लव’ समूहका एक कार्यकर्ताले दिएको जानकारीअनुसार साँझ ६ बजे पक्राउ गरिएको हो ।

पक्राउ परेका खतिवडा इलाम मंगलबारेका स्थायी बासिन्दा हुन् । ६० वर्षीय उनी पञ्चायतकालीन अवस्थाबाट नै आफ्नो शिक्षक पेशा छोडेर राजनीतिमा सक्रिय रुपमा रहँदै आएका छन् । उनी तत्कालीन माले, एमाले हुँदै २०५८ सालदेखि माओवादीमा प्रवेश गरी २०६९ सालमा नेकपा बैद्य समूहमा प्रवेश गरी राजनीति गर्दै आएको भएता पनि पछिल्लो समयमा विप्लव समूहमा रहेर राजनीतिमा सक्रिय रहेका छन् ।

त्यसैगरी खतिवडासँगै पक्राउ पर्ने ३४ वर्षीय राई २०५९ सालदेखि तत्कालीन नेकपा माओवादीमा रहेर राजनीति गरेको र हाल विप्लव समूहको इलाम जिल्ला सेक्रेटरीका रुपमा कार्यरत रहेको जानकारी दिइएको छ ।

यस सम्बन्धमा थप जानकारी लिनका लागि झापा जिल्लाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्र श्रेष्ठलाई सम्पर्क गर्दा टेलिफोन सम्पर्क हुन सकेन ।

हालसम्म नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको हो।

वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।