घोडेजात्रा सम्पन्न (हेर्नुहोस् १२ वटा तस्बिरमा)

काठमाडौँ– घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ ।

नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए । घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँशीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले घोडेजात्राअन्तर्गत भएका म्युजिकल राइड प्रतियोगितामा प्रथम भएका सहसेनानी राजेश श्रेष्ठ र द्धितीय स्थान प्राप्त गर्ने सहसेनानी अजयजङ्ग सुवेदीलाई पुरस्कार प्रदान गरिन् ।

यसैगरी उनले शो जम्पमा प्रथम र द्धितीय स्थान प्राप्त गर्ने क्रमशः ओमप्रसाद यादव र जगदिश घिसिङलाई पनि पुरस्कार प्रदान गरिन् । कार्यक्रममा तालीम प्राप्त कुकुरले प्राथमिक उपचार, कुहिने र नकुहिने फोहर सङ्कलनको गरेको दृश्य आकर्षक रहेको थियो ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय जनतामा रह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख नदिने जनविश्वास छ ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहिआएको छ ।

तस्बिरहरुः रासस