सम्झनामा रत्नकुमार बान्तवा

चैत्र २७ गते शहीद रत्नकुमार बान्तवाको हत्या भएको दिन । २०३५ सालमा आजकै विहानीमा पूर्वी पहाडी जिल्ला इलामको इभाङ गाउँको जंगलको बाटोमा तत्कालीन शासकहरूले क।रत्नलाई कायरता र नीचतापूर्वक गोली हानी हत्या गरेका थिए । त्यसैले ती विगतका सबै सन्दर्भहरू एकपछि अर्को गर्दै दिमागमा सगबगाउन थाले ।

छिटपुट घटना–प्रशंगहरू मात्र होइन– एउटा सग्लो, समर्पित र उदाहरणीय व्यक्तित्वको तस्बिर जीवन्त बनेर नाच्न थाल्यो । कुनै एउटा व्यक्तिको मृत्यु भएको ३६ बर्षपछि उसित गाँसिएका सम्झनाका श्रृङखलाहरू यति ताजै र जीवन्त बनेर आउने कुरा सामान्य हुन सक्दैन । कसरी उसका विचार, कर्म आदर्श तथा योगदानका सूत्रहरूमा मानिसहरू बाँधिएका हुन्छन् अथवा बाँधिइरहन सक्छन् साँच्चै एउटा अनौठो र विचित्रको संयोग जस्तो लाग्छ, मलाई ।

सबै मानिस मर्न त एक दिन अवश्य नै मर्छन् तर कोही मानिस भौतिक रूपमा नरहे पनि किन जनजनका हृदयमा आफ्नो स्थान सुरक्षित राखिरहन सक्छन् रु किन सँधै–सँधै उनीहरू जीवित रहेकाहरूका बीचमा बाँचिरहन सक्छन् ? प्रेरणाका स्रोत बनिरहन सक्छन् , हार्दिक श्रद्धाञ्जली क. रत्न वान्तवा !!

०००

२०२९ सालको आखिरी तिरको कुरा हो । म त्यसवेला आइ.ए. पास गरेर स्नातक तहको पढाइ कसरी अगाडि बढाउने भन्ने चिन्तामा थिएँ । घरबाट खर्च धान्न सक्ने स्थिति थिएन । अगाडिको पढाइको यात्रा कसरी जारी रहन्छ– म यसैमा पिरोलिएको थिएँ ।

म त्यसवेलासम्म क्रान्तिकारी वामपन्थी राजनीति बोकेर हिंड्न थालिसकेको थिएँ, त्यसबाट राम्रै किसिमले प्रभावित बनिसकेको थिएँ । जिन्दगीभर देश र जनताका लागि कम्युनिष्ट विचार बोकेर हिँड्ने संकल्प गरिसकेको थिएँ । त्यस्तो परिस्थिति र मनस्थितिमा ग्रामीण क्षेत्रमा गएर शिक्षण पेशा अपनाउने, यसो गरेर जनतासितको सम्वन्ध गाढा बनाउने, उनीहरूलाई सचेत र संगठित गर्ने सोचाइ र योजनामा थिएँ, म ।

यसका लागि त्यसवेलाको चलन र आवश्यकता बनेको विषय थियो – बीएडको पढाइ । त्यसका लागि शिक्षाशास्त्र अध्ययन संस्थामा पढ्नैपर्ने अनिवार्यता थियो । यसैका लागि म काठमाडौं हान्निएको थिएँ । जनकपुर कलेजमा पढ्दा ताकाका केही सिनियर साथीहरू यसबारेमा केही जानकारी राख्थे, जुन कुरा मलाई थाहा थियो । उनीहरूकै सूचना र सहयोग लिएर म काठमाडौं हिंडेको थिएँ । त्यसवेला भाउजुले केही पैसाको जोहो गरिदिनुभएको थियो ।

त्यो मेरो काठमाण्डौं बसाइका सन्दर्भमा केवल एकपटकका लागि खर्च थियो । पछिका लागि भने म आफैले जोहो गर्नुपर्ने थियो । त्यसवेला मैले जनकपुरमा नेता मानेका लेखनाथ शर्माले समेत भोली गाउँमा गएर संगठन गर्ने हो भने शिक्षक भएर जानु नै उपयुक्त हुने र त्यो उद्देश्यका लागि शिक्षा विषय लिएर पढ्नु नै उपयुक्त हुने सुझाव दिएका थिए । यस्तै सन्दर्भ र पृष्ठभूमिमा म काठमाडौं हिंडेको थिएँ ।

०००

मेरो पहिलो काठमाडौं आगमन थियो, त्यो । संगै आएका साथीहरूका साथ लागेर मैले केही दिन विताएँ । एक किसिमले भौंतारिने जस्तो पनि भएको थियो, त्यसवेला । शिक्षा विषयमा नाम लेखाउन कीतिर्पुरको शिक्षाशास्त्र अध्ययन संस्थामा पुगेर मैले निवेदन दिएँ, हुने भो तर प्रवेश परीक्षामा त बस्नैपर्ने बाध्यता त छँदैथियो ।

२०३० सालको असार १५ गते हाम्रो प्रवेश परीक्षाको दिन थियो । म त्यो दिन चाँडै कीर्तिपुर पुगेर प्रवेश परीक्षा लिइने कोठा खोज्दै थिएँ । म एक्लो थिएँ, प्रवेश परीक्षा लिइने कोठा खोज्दै एक किसिमले भौंतारिँदैं पनि थिएँ । नयाँ विद्यार्थीहरू कक्षा कोठाहरू खोज्दै, प्रवेश परीक्षा दिने कोठा खोज्दै यताउती गरिरहेका थिए । यसैक्रममा म एउटा कोठा नजिक झुम्मिएका विद्यार्थीहरूसंगै मिसिन पुगे । ती झुम्मिएका विद्यार्थीहरू एकअर्कासित परिचीत भएर प्रवेश परीक्षाको तयारी सहीतसंगैको कोठामा बसेका रहेछन् ।

उनीहरू एकअर्कासित परिचय आदान प्रदान गर्दै अन्तर्वार्ताका बारे कुरा गरिरहेका थिए । म त्यही हूलमा मिसिएँ, मेरो अन्तर्वार्ताको कोठा त्यही छेउमा रहेछ, नाम बोलाइदैरहेछ, हुलभित्रकै कोही साथी अन्तर्वार्ताका लागि छेउमै रहेको कोठामा जाँदै र एकैछिनपछि निस्कदै आफूलाई के कसरी प्रश्नहरू गरिए भन्ने कुरा सुनाइरहेका थिए । त्यही हूलको वीचमा रहेको एकजना गोरो, होचो कद, हँसिलो अनुहार तर चिम्सा खालका आँखा भएको युवा मधूर स्वरमा एउटा मिठो गीत गुन्गुनाइरहेको थियो–

‘विरानो देशको माटोभरी छ नेपाली नाम लेखेको, कहीं भीर पहराले छेकेको,

कहीं पैतालाले टेकेको…हे दाजै…कहीं पैतालाले टेकेको…!’

सबै उसको स्वरमा मुग्ध बनेर सुनिरहेका थिए, कोही चाहीं वान्स मोर भनिरहेका थिए । बीएडमा नेपाली साहित्यमा अध्ययनका लागि प्रवेश परीक्षाको पर्खाइमा रहेका ती युवासित मैले पनि परिचय गरेको थिएँ । परिचयको क्रममा मलाई ती युवा हँसमुख संगसंगै गम्भीर पनि लाग्यो । संगै बस्न मन लाग्यो ।

संगै वसेर परिचय गर्दै एकछिन सामान्य भलाकुसारी खालका केही कुराहरू गर्यौं । घर–परिवार, कहाँ पढेको, अध्ययन गर्न चाहेको विषय, रूची, काठमाण्डौंमा कुन ठाउँमा डेरा लिएको आदिसम्मका कुरा ती साथीसित गर्न भ्याएको थिएँ, मैले । मेरा सबै जिज्ञासाको उत्तर दिएका थिए– ती साथीले । साथै, उनले मसित पनि यस्तै–यस्तै जिज्ञासा राखेका थिए । एक किसिमले हुलहालमै हामीबीच भएका संक्षिप्त संवादले हामीलाई एकअर्कासित नजिक्याएको लागेको थियो– मलाई ।

त्यसवेला मलाई खुशी लागेको थियो, जब ती साथीले आफ्नो मेजर विषय तथा क्लास (सेक्सन) समेत बताएका थिए । हामी त एकै ठाउँमा पो परेछौं । कस्तो अचम्म ! अन्तरवार्तामा पनि मेरो पालो पहिले आयो, त्यसपछि लगत्तै उनको आएको थियो । मैले आफूलाई सोधिएका प्रश्नहरू उनलाई बताइदिएको थिएँ । उनले खुशीसाथ सुनेका थिए । अन्तर्वार्ताबाट उनी नबाहिरिउन्जेल मैले उनलाई पर्खेर बसेको थिएँ । उनी हाँस्तै आए, ‘होइन होउ…!, गुरूले मलाई जे–जे भन्नुभएको थियो, झण्डै त्यस्तै– त्यस्तै पो सोधे होउ मलाइ त ।’

यति भनेर उनले मसित कर्याप्पसित हात मिलाएका थिए । अचम्मसित उनले मलाई ‘गुरू’ भनेर सम्बोधन गरेका थिए । यी सबै सम्वादका क्रममा हामीबीच बढेको हिमचिमलाई संगै बसेका केहीले यी पुरानै मित्र पो हुन् कि जस्तो गरी हेरेका थिए । हामी संगै बाहिर निस्कियौं, बाहिरको क्यान्टीनमा चिया खायौं । ‘जाऊँ आज मेरो कोठा हेरौं, म कालिमाटी चोकैमा बस्छु…’ उनको प्रस्तावलाई मैले स्वीकारेको थिएँ र उनीसंगै कीर्तिपुर शैक्षिक परिसरमा लागिरहेको वस चढेर हामी कालीमाटी ओर्लेका थियौं । डेरामा त्यसवेला उनीसंगै बस्ने दाइ थिएनन्, उनी एक्लै थिए, बडो हार्दिकतापूर्वक ओछयानमै वसाएर आफैले चिया पकाएर मेरो अगाडि राख्दै ‘ल खाऊँ गुरू’ भनेका थिए ।

त्यसवेला एकपटक त किन यिनले मलाई गुरू भन्छन् भनेर छवास्स लागेको पनि थियो । तर उनको हार्दिकताले उनीप्रतिको मित्रभावलाई बढाइदिएको थियो । त्यही वसाइमा हामीले आफूहरू वामपन्थी विचार भएको एकअर्कालाई वताएका थियौं । यो थाहा पाएपछि त उनीप्रतिको मित्रभाव झन् बढेर गएको थियो ।

हामीले त्यसबेला एकअर्कोलाई केही समय पहिले भएको झापा आन्दोलनका समर्थक समेत बनाएका थियौं । हामी एकैदिनमा लामो समयदेखिका घनिष्ठ मित्र जस्ता बनेका थियौं । केहीबेरको कुराकानीपछि उनले मलाइ वरसम्म छोड्न आएका थिए । हामी हात मिलाएर भोलीपल्ट भेट गर्ने कवुल गर्दै छुट्टिएका थियौं । हो, रत्नसित मेरो पहिलो भेट यसरी भएको थियो …।

०००

भोलीपल्ट हामीले संगै गएर रिजल्ट हेर्यौं । रत्नभन्दा म एक नम्बरले अगाडि थिएँ । क्लास एउटै, सेक्सन एउटै, विषय एउटै, प्रवेश परीक्षामा लगभग एउटै पोजिसन र रोल नम्वर एकले मात्र तल माथि– कस्तो संयोग ! पछि त सिद्धान्त, राजनीतिक विचार तथा भावना समेत पनि उस्तै उस्तै ! यसरी रत्न र म अनन्य मित्र बन्दै गयौं । हामी बीचको मित्रता पछिपछि त गहन छलफल, विचार विमर्समा केन्द्रित हुन थाल्यो । कम्युनिष्ट साहित्यहरू जम्मा गर्ने, अध्ययन गर्ने, छलफल गर्ने, भविष्यमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन आफ्नो जीवन सम्पूर्ण रूपमा लगाउने जस्ता विषयमा केन्द्रित हुन थाल्यौं ।

झापा आन्दोलनका साहित्य–प्रकाशनहरू जम्मा गरेर अध्ययन गर्ने, विश्वसनीय साथीहरूबीच उतार गरेर वितरण गर्ने आदि कामहरू गर्न थालेका थियौं । यी सबै कामहरू गरिरहँदा हामीहरू एकअर्काको डेरामा घनिभूत रूपमा आउजाउ गरिरहेका हुन्थ्यौं । धेरैपटक हामीले संगसंगै एकअर्काका डेरामा खाना खाएका थियौं । हामीबीचको सम्बन्ध वैचारिक रूपमा थप सुदृढ बन्दै गइरहेको थियो ।

काठमाडौं बस्न थालेको झण्डै छ महिनातिर म काठमाडौंमा नराम्ररी थलिएँ । त्यसवेला म काठमाडौं झोंछेमा बस्थे, त्यहीं बसेकोवेला म विरामी परेको थिएँ । म दुई दिन कलेज नगएपछि रत्न अचम्ममा पर्नुभएछ, त्यसैले बेलुका मेरो खोजी गर्दै वहाँ मेरो डेरामा आउनुभो । त्यसवेला म हन्हन्ती ज्वरो आएका कारण इन्तुुनचिन्तु भएर सुतिरहेको थिएँ । ओछयानमै आएर रत्न बस्नुभो, मेरो अवस्था वुझ्न खोज्दै निधारमा आफ्नो हात पुर्याउनुभो, मेरो ज्वरोको स्थिथतिबारे बुझ्ने कोशिस गर्नुभयो ।

मेरो निधारमा हात पुर्याएपछि वहा“ विशेष गम्भीर बन्नुभो, ‘गुरू, तपाईंलाई सारै ज्वरो आएको छ, औषधी गर्नुपर्छ । मसंगै मेरो डेरामा जाऊँ, म सबै चीज बोक्छु’ । रत्नले मलाई उठाउनुभो, आफूले बोक्नुपर्ने मेरो झोला एकातिर झुण्ड्याउनुभो, अर्को हातले मलाई सहारा दिनेगरी समाउनुभो । म एककिसिमले लतारिएर हिड्न खोज्दै थिएँ ।

मेरो भरोसा बनेर रत्न उभिनुभएको थियो र मलाई सहारा दिइरहनुभएको थियो । रत्नको कोठामा मलाई मेरो आफ्नो प्रिय घरमै पुगेजस्तो भएको थियो । म अहिले पनि झल्झली सम्झिरहेको छु– कोठामा पुर्याएर रत्नले एक छेउमा ओछ्यान लगाइदिनुभो, सुत्न आग्रह गर्नुभयो, हात खुट्टा मिचिदिनुभो र एउटा पातलो ओड्ने ओडाइदिनुभो । वहाँले यति गरून्जेल म त आराम अनुभव गर्दै निदाइसकेको थिएँ ।

एउटा हातले तातो पानीको गिलास र, अर्को हातले मलाई घच्घच्याउँदै गरेका रत्नलाई जब अस्वस्थ्यताका वीचमा खुलेका मेरा आँखाले देखे, म भावविभोर भएर मेरा आँखा रसाएका थिए । मैले एकनासले रत्नलाई हेरिरहें, आँखाबाट आँशु बगिरहेका थिए । वहाँले आफ्नो हातको सहाराले मलाई उठाउनु भएको थियो र पानी पिउन सघाउनुभएको थियो । औषधी र मुगको दाल हालेको जाउलो खान दिनुभएको थियो । त्यो रात अस्वस्थ्यताकै वीचमा पनि मैले मीठो निद्रा सुतेको थिएँ । रत्नको कोठामा त्यो रातको मीठो निद्रालाई विर्सन सकेको छैन ।

म केही दिन रत्नकै कोठामा बसें । वहा“ले औषधी खुवाउनुभो, सेवा गर्नुभो, देखरेख गर्नुभो र त्यसैको परिणामस्वरूप म तँग्रदैं गएँ । म तग्रदैं गएपछि एकदिन रत्नले अब दुबैजनासंगै त्यही डेरामा बस्ने प्रस्ताव राख्नुभो । त्यसवेलासम्म रत्नसंगै वस्ने वम देवान पढाइ छोडेर धरान गइसकेका थिए । बम रत्नका नातामा दाइ पर्थे । मैले रत्नको प्रस्तावलाई सहर्ष स्वीकार गरें ।

त्यसको भोलीपल्ट हामी दुवैजना झोंछेमा रहेको मेरो डेरामा गयौं, घरधनीलाई भाडा बुझायौं, कोठाका सामानहरू पोको पार्यौं र कालिमाटीको रत्नको डेरामा पुग्यौं । त्यसदिनदेखि त्यो डेरा हामी दुबैको संयुक्त डेरा भएको थियो । यसरी हामीविचको मित्रता झन्झन् गाढा र आत्मीय बनिरहेको थियो । मैले रत्नसितको प्रारम्भिक परिचयमा जीवनलाई नयाँ किसिमले बोध गर्न थालेको थिएँ । र, रत्न यसको स्रोत बनिरहनुभएको थियो ।

०००

रत्नसितको मित्रतासंगै मैले जीवनलाई नयाँ किसिमले बुझ्न थालेको थिएँ । रत्नसित संगै बस्न थालेपछि वहाँले आफ्नो जीवनसित गाँसिएका थुप्रै घटना–प्रशंगहरू सुनाउनु भएको थियो । आफ्नो पारिवारीक पृष्ठभूमि र वर्ग–स्रोत, आफ्ना पिताको पुलिस सेवा र व्यारेकीय जीवन, त्यहाँ आफूले प्राप्त गरेको प्रारम्भिक शिक्षा र जानकारी पाएको आधारभूत सुरक्षा सम्वन्धी तालिम, पिता रिटायर्ड भएपछि पनि घरायसी स्थितिका दुःख–पीडाहरू, आमा र भाइ–बहिनीहरूले अरूकोमा गर्नुपरेको काम, यसै सिलसिलामा आफू स्वयं पनि पढाइका लागि धरानका आफ्नै नाता पर्नेको घरमा कामदारका रूपमा रहेर गर्नुपरेको दुःख, त्यहाँ सहनुपरेको अपमान र त्यसलाई सहन गर्न नसकेर गरेको आत्म–हत्याको असफल प्रयास आदि सबै कुरा बताउनु भएको थियो, रत्नले ।

मलाई यी सबै कुरा सुनाइरहँदा वहाँ मेरो अनुहारमा भन्दा पनि पर..प..र हेरिरहनुहुन्थ्यो । वहाँको मुखबाट आफ्नै जीवन–कथाका प्रशंगहरू त आइरहेका हुन्थे तर वहाँ स्वयं भने अतितमा हराइरहनु भएजस्तो लाग्थ्यो । एउटा अनौठो र संघर्षशील जीवन यात्राको गुड्दै गरेको गाडी छेउमा उभिए जस्तो लाग्थ्यो, मलाई ।

यी सबै कुरा भन्दैगर्दा एकाएक मेरा आँखामा हेरेर भन्नुहुन्थ्यो रत्नले –‘बुझ्नुभो गुरू ! विगतका ती सबै कुराले मलाई दुःख सहन सिकायो, थप मेहनती बनायो, हिम्मत र साहस पनि बढेर आयो । अहिले त जस्तासुकै अप्ठेराको पनि सामना गर्न सक्छु जस्तो लाग्छ ।’ क्यान्सरबाट पीडित बनेर जब आमाले मृत्युको काखमा पुग्नुपर्यो, आफूहरू निरीह बनेर छट्पटाइ– छट्पटाइ मर्दैगरेकी आमालाई हेरिरहन वाध्य हुनुपर्यो’ यी शब्दहरू बोलिरहँदा रत्नका आँखामा आँसु बगेको मैले देखेको थिएँ ।

वहाँका कुरा सुनिरहँदा म भक्कानिएर रोएको थिएँ, तर वहाँले भने आँखाबाट वलिन्द्र धारा आँसु झरे पनि हिक्का समेत छोड्नु भएन । म जतिजति वहाँको जीवनसित गाँसिएका दुःख, पीडा र संघर्षका कथाहरू सुन्थे, वहाँले सहनुपरेका अपमानका व्यथाहरू मेरा कानमा गुन्जिन्थे, म आफै पनि पिडाले छट्पटाउँथे, आँखाबाट आँसुका धाराहरू बग्थे, म वहाँका हातहरू समाउँथे । अत्यन्त गाढा मित्रभाव, प्रगाढ माया तथा सम्मान सहीतको आदरभावले मेरो मन छचल्किनपुग्थ्यो । संघर्षले खारिएको दृढताको साक्षात प्रतिमूर्ति जस्तो लाग्थ्यो रत्न, मलाई ।

शायद यस्तै पृष्ठभूमिका कारणले हुनसक्छ, जुनसुकै वेला जस्तासुकै अप्ठ्यारा कामका लागि पनि तत्पर भैहाल्ने रत्नको बानीबाट म साह्रै प्रभावित वनिरहेको हुन्थे । हामी आपसमा आफ्नै कथा–व्यथाहरू एक अर्कालाई सुनाउँदै रात छिप्पिदै गर्दा कालिमाटीको डेराबाट निस्केर वागमती र विष्णुमतीको दोभानमा कुनै ऐतिहासिक कालमा तपस्या गर्ने नेमुनीको तपस्यास्थलमा पुग्थ्यौं । त्यहा“को ढिस्को परेको ठाउँमा रात गाढा बन्दै जा“दा पनि हामीले घण्टौं विताएका थियौं ।

हामी रातको निस्पट्ट अँध्यारोमा बसेर प… र..प…र..! क्षितिजमा उज्यालो खोजिरहेका हुन्थ्यौं । हामीले यसरी कैयौं रात घण्टौं विताएका छौं । कति रात त हामीले काठमाडौंका शहरभित्रका अग्ला अग्ला देवलहरूमा वसेर गम्भीर रूपमा छलफल गर्नेगथ्र्यौं, जीवनलाई कसरी अगाडि बढाउने भन्ने सम्वन्धमा योजना बनाउँथ्यौं । सबै कुरा त्याग्ने, गरिब जनता र समाजको सेवा गर्ने वैराग्य र विद्रोेहको आगो सल्किरहेको थियो, हाम्रा मनभित्र ।

०००

आमरूपमा साहित्यहरू, अझ खासगरी कम्युनिष्ट साहित्यहरू, हामी दुवैजना खोजीखोजी पढ्थ्यौं, पैसाको थोरवहुत जोरजाम हुनासाथ भोटाहिटीमा निरन्जन गोविन्द वैद्यले खोलेको प्रगतिशील साहित्यहरू विक्री हुने पसलमा हामीहरू पुगिहाल्थ्यौं । प्रत्येक पटक हामीहरूले केही न केही पुस्तकहरू किनेर ल्याएकै हुन्थ्यौं । नेपाली भाषाका सामयिक प्रकाशनहरू हामी प्रायः सबै संकलन गथ्र्यौं । त्यसवेला किताव किन्ने, संकलन गर्ने, पढ्न– पढिसक्ने एउटा अचम्मकै धुन चढेको थियो, हामीलाई ।

रत्न, एउटा अनौठो प्रतिभावान युवा हुनुहुन्थ्यो । एकैपटक धेरै काम गर्नसक्ने क्षमता र प्रतिभा थियो, वहाँमा । पढ्ने र लेख्ने संगसंगै गर्नसक्ने क्षमता थियो, वहाँमा । एउटा मोटै किताव पढ्दै गर्ने र त्यहीवेला कुनै अर्को कितावको नोट वनाउने वा अन्य मौलिक कुनै रचना पनि तयार गर्न सक्ने अनौठो क्षमता थियो, वहा“मा । दुवै हातले झण्डै झण्डै उस्तैउस्तै गतिमा लेख्न सक्नुहुन्थ्यो, रत्न ।

पृथक पृथक विषयमा दुइटा हातले एकैपटक लेख्नसक्ने क्षमता हुनु आफैमा साँच्चै अनौठो थियो । वहाँ मन छुने गीत र कविताहरू रचना गर्नुहुन्थ्यो र लयात्मक ढंगले वाचन गर्ने र अत्यन्त सुमधुर स्वरमा गाउने गर्नुहुन्थ्यो । ‘लक्ष्य भेदन गर्ने एउटै ताँदोबाट छुटेका हामी तीरहरू…!’ रत्नले कति अर्थपूर्ण शीर्षकमा लेख्नुभएको थियो यो कविता ! चित्रकारितामा वहाँ त्यत्तिकै सिद्धहस्त हुनुहुन्थ्यो ।

हाम्रो कोठामा रत्नले बनाउनुभएको चिलेका निर्वाचित कम्युनिष्ट राष्ट्रपति एलेण्डे (जसलाई अमेरिकी साम्राज्यवादीहरूको षड्यन्त्रमा हत्या गरिएको थियो, जो साम्राज्यवादी दलाल हत्यारा जत्थासित लड्दा लड्दै मारिएका थिए) को जीवन्त तस्बिर टाँगिएको थियो । पाब्लो नेरूदा, माक्र्सीम गोर्की, लु स्यून, भानुभक्त आचार्य, मोतीराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा आदिका तस्बिरहरू टाँगिएका थिए, कोठैभरी ।

क्रान्तिकारीहरू, शहीदहरू, आन्दोलनमा उत्रिएका जनसमूदायको विशालपंक्ति, पसिना बगाउँदै श्रममा जुटिरहेका श्रमिकहरू आदि रत्नको चित्रकारिताका विषय थिए । यिनका अलावा प्रेम र अनुरागका अनुपम दृष्यहरूलाई जीवन्त रूपमा चित्रमा उतार्नुभएको थियो रत्नले ।

‘जीवनको यो पाटोलाई पनि देख्न सक्नुपर्छ, बुझ्न सक्नुपर्छ’ भन्नुहुन्थ्यो रत्न । एकदिन रत्नले एउटा ठूलो वन्द खाम मलाई दिनुभो, मैले खोलेर हेरें, मेरो हुबहु अनुहार उतारिएको थियो एउटा ठूलो कागजमा । म अचम्ममा परें– कसरी यस्तो जस्ताको तस्तै, मै जस्तो लाग्ने तस्वीर बनाइदिनुभो ! ‘मित्रताको उपहार’ भन्नुभो वहाँले । त्यसवेला मलाई के बोलौं –के बोलौं जस्तो भएको थियो ! मैले खाली श्रद्धा र सम्मानका साथ वहाँलाई हेरेको थिएँ ।

०००

बाँसुरीबाट निस्किएका सुमधुर धूनमा रत्न छताछुल्ल भएर पोखिनुहुन्थ्यो । वास्तवमा बाँसुरीको त्यति मीठो धून मैले विरलै मात्र सुनेको छु । रात छिप्पिदैं गएपछि कोठाको झ्याल खोलेर वहाँ बाँसुरी बजाउन थाल्नुहुन्थ्यो । बा“सुरीको धूनसंगै वहाँ प।।र प।।र क्षितिजमा आफ्ना कथाव्यथा सहित पुग्ने कोशीस गरिरहे जस्तो लाग्थ्यो, मलाई । मादल र हार्मोनियम साँच्चै वेजोडले बजाउनुहुन्थ्यो, रत्नले ।

सुन्नेहरू मन्त्रमुग्ध हुन्थें, ताली बजाउँथे र कति त नाँच्थे पनि । बच्छे बाजा (माउथ हार्मोनियम), बिनायो बजाउन वहाँ त्यत्तिकै रूची राख्नुहुन्थ्यो । विनायोका बारेमा वहाँ भन्नुहुन्थ्यो– पहाडको ग्रामीण क्षेत्रको मौलिक र प्रिय बाजा ! ‘रिटिंग रिटिंग वजायो विनायो…विनायोले लौ मन छिनायो..!’ विनायो बजाएपछि वहाँ प्राय स् यही लोकगीतको वाक्य दोहोर्याउनु हुन्थ्यो ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनसित सम्वन्धित साहित्यहरू मात्र होइन, देशभित्र संचालित जनताका संघर्षहरूका विवरण हामी जम्मा गथ्र्यौं । झापा संघर्षका क्रममा र त्यससित सम्वन्धित जारी हस्तलिखित दस्तावेजहरूलाई हामीहरू विभिन्न जुक्तिवुद्धि लाएर प्राप्त गथ्र्यौं, तिनको अध्ययन गथ्र्यौं र आफु नजिकका अत्यन्त विश्वसनीय साथीहरूलाई सार्न र अध्ययन गर्न दिन्थ्यौं ।

त्यस्ता साथीहरूसित हामी आफ्ना कोठामा मात्र होइन, कहिलेकाहीं पिकनिक खाने र डुलफिर गर्ने निहुँमा सुन्दरीजल, पशुपति र गुहेश्वरीका जंगलमा पुगेर हस्तलिखित दस्तावेज आदान–प्रदान गथ्र्यौं र कतिपय विषयमा गरमागरमी छलफल वहसहरू पनि गर्ने गथ्र्यौं । यीनै अभ्यासका क्रममा हामीबीच एउटा वैचारिक समूह नै बनिसकेको थियो ।

दाङका वामदेव शर्मा, चितवनका विष्णु घिमिरे, ओखलढुंगाका श्याम श्रेष्ठ, खोटाङका खगेन्द्र जोशी, म्याग्दीका शेरचनजी आदि साथीहरूका वीचमा लगभग नियमित जस्तै यी कामहरू भैरहेका हुन्थें । हामी सबै ग्रामीण क्षेत्रमा गएर गरीब किसान जनतालाई सचेत बनाउने र संगठित गर्ने उत्कट चाहना र योजनामा थियौं । तर यस सम्वन्धमा कुनै ठोस योजना र कार्यविधि भने हामीसित थिएन । क्रान्तिकारी भावनाको उर्लदो छालले हामीलाई तरंङ्गित बनाइरहेको थियो ।

०००

असन्तुष्टी र विद्रोहको जगमा ढकमक्क फूलेका सपनाका सुन्दर फूलहरू हाम्रा मनभरी – आँखाभरी फक्रिरहेका थिए । गाउँ वस्तीका जनताका बीचमा पुगेर हामी सपनालाई साकार पार्न चाहन्थ्यौं । सोचाइको यही श्रृंखलामा दशैंको लामो छुट्टीमा घर नगई झोला बोकेर सुदूर ग्रामीण क्षेत्रको भ्रमणमा रत्न र म निस्कियौं ।

काठमाडौंको बौद्धबाट पैदल हिंडेका हामी लगातार उत्तरतिर हिंड्दै, काठमाडौं र सिन्धुपाल्चोकका अनेकौं गाउँ–वस्ती छिचोल्दै गोसाइकुण्ड पुगेका थियौं । हामीले औलो उन्मुलनका लागि गाउँगाउँ फिल्डमा खट्ने कर्मचारीहरूले पिठ्यौंमा बोक्ने पहेंलो रंगको झोला, झोलाभित्र भात पकाउने अल्मुनियम भाँडो, खाने एउटा एउटा थाल र चार किलो जति चामल र आ–आफ्ना झोलामाथि एउटा एउटा पुराना कम्मल बोकेका थियौं ।

दुईजनाकै गोजीमा जम्माजम्मी ५५ रूपैयाँ थियो । बाटोमा जहाँ पुगिन्छ र जहाँ गाँस र बासको आवश्यकता पर्दथ्यो, हामी त्यहीं बस्थ्यौं, साथमा रहेको भा“डामा भात पकाउँथ्यौं, भात पकाइसकेपछि थालमा खन्याएर त्यही भाँडोमा तरकारी पकाउँथ्यौं, नजिकैको धारा वा कुवाबाट पानी ल्याउने कुनै भाँडो थिएन, भाँडै बोकेर त्यहाँ पुग्थ्यौं र पानी हाल्थ्यौं । हाम्रो सिंगो यात्राभरि हामीले यसरी नै बितायौं । भ्रमण सकेर काठमाडौं पुगेपछि भ्रमण गरेका गाउँ–ठाउँको वर्गीय स्थिति, जाति, भाषा, धर्म, संस्कृति, जनताले भोग्नुपरेका दुःख तथा शोषण–दमनका वारेमा विस्तृत रिपोर्ट तयार गरेका थियौं ।

त्यसवेला हामीसित क्यामरा थिएन, त्यसैले चाहेर पनि फोटो खिच्न पाएनौं, तर रत्नले यात्रालाई झल्काउने थुप्रैस्केचहरू बनाउनुभएको थियो । हिमाल, पहाड, उकाली, ओराली, झोला बोकेर हिंड्दै गरेका हामी दुई भाइ ! ती स्केचहरूमा हाम्रो यात्राको कस्तो जीवन्त उतार थियो ! हामी हाम्रो आफ्नै नयाँ संसारको खोजीमा हिंडिरहेका थियौ ! हामीलाई गाउँ र गाउँका जनता प्रिय लाग्ने गरेका थिए ।   

लेखक नेपाल सरकारका रक्षामन्त्री हुनुहुन्छ । उहाँ नेकपा एमालेका महासचिव रहँदा लेखेको लेखको अर्काइभबाट ।