धन सम्पत्तिसँगै खुशी पनि उडायो

भलवलिया (बारा)– “हावाहुरीले घरसँगै हाम्रो खुशी पनि उडाइदियो”, बारा भलवलियाका रवीन्द्र रामले पीडा सुनाउँदै भने, “घरमा भएको दुई बोरा धान र रु दुई हजारसमेत उडायो, बारीको गहुँबाली सखापै भयो ।”

रवीन्द्रको त्यसै दिन बिहान घरमा नयाँ सदस्यको आगमनले परिवारमा खुशियाली छाएको थियो । विडम्बना त्यही दिन साँझ आएको हावाहुरीले उनीहरूको खुशी एकाएक पीडामा बदलियो ।

रवीन्द्रकी श्रीमती आशादेवीको पनि आफ्नो तेस्रो सन्तान प्राप्त भएकामा खुशीको सीमा नै थिएन । आलो सुत्केरी के गर्नु हावाहुरीले घरै उडाएपछि बच्नैका लागि बच्चा च्यापेर छिमेकीको घरमा जान बाध्य बनायो ।

‘‘बिहान ७ बजे छोरी जन्मिइन् साँझ ७ बजेको समयमा हेलिकप्टर कराएको जस्तो गट्ट आवाज आयो, एकैछिनमा घर उडायो’’ उनले भने । १२ घण्टाको शिशु र आफ्नो ज्यान जोगाउन सफल भएकी आशादेवीलाई आफ्नो र छोरीको ज्यान बचे पनि अबको भविष्य के हुने हो त्यसको चिन्ताले सताइरहेको छ ।

“हावाहुरीले घरसँगै भाडावर्तन, कपडा, खाद्यान्नलगायतका सम्पूर्ण बन्दोवस्तीका सामान उडाएर लग्यो”, रवीन्द्र र आशा दम्पतीले भने, “कहाली लाग्दो हुरीकै दिन जन्मेकाले छोरीको नाम आनी राखेका छौँ ।” उनीहरूका अनुसार मैथिली भाषामा आनी भनेको हुरी आयो भन्ने बुझिन्छ । विवाह भएको आठ वर्षमा पहिलो सन्तान जन्मेको बताउने सोही स्थानकी अर्की सुत्केरी कविता रामको पनि कम पीडा छैन । शल्यक्रिया गरेर छोरी जन्माएको नौ दिनको दिन हावाहुरी आएर आफ्ना खुशी पीडा र व्यथामा बदलिदिएको उनले बताए ।

“हावाले घर एकैचोटी उडायो । नाबालक छोरीलाई च्यापेर खाटमुनि पसी ज्यान बचाएँ”, मलिनो अनुहार बनाउँदै उनले भने, “मलाई त बाँचौँला जस्तो लागेको थिएन, धन्न बाँचियो ।” उनका श्रीमान् दिनेश राम कामबाट राति ९ बजेतिर घर फर्किएका थिए ।

रवीन्द्र तथा दिनेश दम्पतीजस्तै यतिखेर भलवलियामा मात्र एक महीनाभित्र सुत्केरी भएका १० जना महिला तथा नवजात शिशु रहेको स्थानीय राहत व्यवस्थापन समितिका संयोजक वीरेन्द्र शाहले जानकारी दिए । सुत्केरीले स्याहार पाउनुपर्ने बेलामा घरवास नै उडाएर विचल्ली पारेका कारण समस्या भएको उनको भनाइ छ ।

सुत्केरी र नाबालक शिशुका लागि राहत

हावाहुरीबाट पीडित भलवलियाका सुत्केरी र नाबालक शिशुका लागि पोखराबाट गएको एक टोलीले राहत सामग्री वितरण गरेको छ । विपन्न र असहाय वर्गका बालबालिकाको क्षेत्रमा कार्यरत रेन्बो चिल्ड्रेन होम नेपालले उनीहरूको लागि तत्काल आवश्यक म्याटेस, तकिया, तन्ना, हर्लिस एवं बच्चाका लागि आवश्यक सरसफाइका सामग्री प्रत्येक घरघरमा पुगेर वितरण गरेको संस्थाका निर्देशक गोमा ढकालले जानकारी दिए ।

उनकाअनुसार प्रभावित क्षेत्रको अध्ययनका क्रममा १० जना सुत्केरी आमा र वच्चाको संवेदनशीलताका आधारमा वीरगञ्ज बजारबाट सामान खरीद गरेर पीडितलाई वितरण गरेको हो । सो अवसरमा कूल रु दुई लाख मूल्यबराबरको राहत वितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममा सो क्षेत्रमा पुग्नुभएका नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जका प्रसूति रोग विशेषज्ञ डा लक्ष्मी थापाले हावाहुरीको कारण जोखिममा परेका मातृशिशुको स्वास्थ्य गम्भीर अवस्थामा रहेको बताउँदै सो क्षेत्रमा खानपिन र सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

खानेकुरा छ पकाउन पाइँदैन

बारा भलवलियाका हावाहुरी पीडितलाई यतिखेर चामल, दाललगायतका खानेकुरा जेनतेन उपलब्ध भए पनि पकाउने समस्याका कारण समयमा पेटभरि खान पाएका छैनन् । घरवास नै उडेपछि अहिले नेपाली सेनाले उपलब्ध गराएको त्रिपालको ओत रहेको बताउने यहाँका पीडित पानी पर्ने गरेकाले बाहिर पकाउन नसकिने तर टेन्टभित्र आगो बाल्न नमिल्ने हुँदा साँझ÷बिहान खाना पकाउनसमेत समस्या भएको बताउँछन् ।

टेन्टभित्र दाउरा बाल्न नमिल्ने, ग्यास सिलिण्डर चुलो नहुँदा आफूहरू समस्यामा परेको स्थानीयको गुनासो छ । हावाहुरीको कारण सो क्षेत्रका सम्पूर्ण सिमेन्ट पोल ढलेर प्रभावित भएको विद्युत् सेवा बिहीबारदेखि सञ्चालनमा आएको छ । खेतमा लगाइएको गहुँ बाली नष्ट भएको, गोठ उडाएपछि पशुपालनमा समेत समस्या जटिल बन्दै गएको छ ।

हुरीको कारण भलवालियामा मात्र चार जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भई अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको स्थानीय शिवजी गुप्ताले जानकारी दिए ।

विपद् व्यवस्थापनमा विद्यार्थी

हावाहुरी प्रभावित क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थीले एकहप्ते विपद् स्थापनका लागि श्रम शिविर सञ्चालन गरेका छन् । अखिल नेपाल विद्यार्थी सङ्गठन र क्रान्तिकारीको लगभग २०० विद्यार्थी नेताले सो क्षेत्रमा भग्नावशेष हटाउने, एसइई परीक्षामा संलग्न विद्यार्थीलाई पठनपाठन र खानाको व्यवस्थापनलगायत २२ वटा अस्थायी शौचालय निर्माण गरेको अखिलका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिइन् ।

हावाहुरीबाट विशेष गरी विपन्न वर्ग प्रभावित हुने गरेको पाइएको छ । उक्त गाउँमा रहेको ४०० घरमध्ये ३४० घर पूर्णरुपमा क्षति भएका छन् । विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट उपलब्ध गराइएको राहतले तत्कालका लागि समस्याको समाधान भए पनि आफ्नो घर पुनःनिर्माण भएर परिवारसहित वास बस्न नपाएसम्म हावाहुरी पीडितले दीर्घकालीनरुपमा राहतको महसुस नहुने स्थानीयवासीको सामूहिक धारणा रहेको छ ।