‘यानीमाया’ जोगाउँदै वृद्धा

बागलुङ– ‘गड्याङगुडुङ् गर्दै आयो यानुमाया रामरसी खोला जुग, समय फिर्दै आयो यानीमाया कस्तो हुने होला…।’ (मनी श्रीस, ८४) मनी श्रीस ८४ वर्षका भए । बुढ्यौलीमा पनि श्रीसको गीत मोह ज्यूँका त्यूँ छ । तन्नेरीमाझैँ सुरिलो गला, अनुहारको हाउभाउ पनि उस्तै जीवन्त ।

काठेखोला गाउँपालिका–३ धम्जा, ओखलेकी श्रीसको यानीमायासँग पुरानो साइनो छ । यानीमाया धवलागिरि क्षेत्रको मौलिक भाखा हो । विगत सम्झदैँ श्रीस भन्छिन्, “मेलापात र वनपाखा जाँदा यानीमाया गाउँथ्यौँ, गीतबाट दुखः,सुख, पीर, बेदना साट्थ्यौँ ।” घरमाथिको वनपाखा देखाउँदै श्रीसले आफू ११ वर्षको हुँदा देखिनै घाँस, दाउरा गर्दा यानीमाया गाएको सुनाइन् ।

श्रीस तन्नेरी छँदा गाउँमा यानीमाया गाउने धेरै थिए । पुरुष र महिलाबीच समूहमा घण्टौँसम्म गीत गाउने, रोधी बस्ने चलन थियो । तर, अहिले समय फेरिएको छ । मौलिक लोकगीत हराउँदै जान थालेका छन् । श्रीसझैँ सीमित पुरानो पुस्तामा मात्र परम्परागत गीत, भाखा र गाउने शिल्प बाँकी छ । वाइस वर्षको उमेरमा बिहे गरेर छिमेकी गाउँ तङ्ग्रामबाट धम्जा, ओखलेलाई कर्मथलो बनाउन आएकी श्रीसले साथी, संगिनीहरूबाट गीत गाउन सिकेकी थिइन् ।

“हुद्दा, अर्मपर्ममा पनि गीत गाउने चलन हुन्थ्यो” श्रीसले भनिन्, “अहिले त नयाँ जमाना आयो, सबैले गाउन छोडे ।” यानीमायाको चर्चा चल्दा गाउँका सबैले श्रीसलाई सम्झन्छन् । मेला, पर्वमा पनि श्रीसले गीत गाउने गर्छिन् । यानीमायालाई मौलिक स्वरुपमै गाउनेमा श्रीस गाउँमै एक्ली छन् । उनका दामली कति बितेर गए कतिले गीतलाई निरन्तरता दिन सकेनन् । चढ्दो बुढ्यौलीमा पनि श्रीसको गीतप्रतिको झुकाव अरुलाई पनि प्रेरणादायी बनेको छ ।

श्रीसको गीत गाउने तलतल र स्वरको सुरिलोपनामा कुनै कमि नआएको छिमेकी गोपाल श्रीसले बताए । “गाउँमा सबैले यानीमाया गाउने भनेर चिन्छन्, पाको उमेरमा पनि उहाँमा उस्तै जोश र उत्साह छ”, उनले भने । यानीमाया मात्र नभएर सालैजो, नानीलै, ठाडो भाखा लगायतमा पनि श्रीसको धेरथोर ज्ञान छ । उमेरका कारण उनले कतिपय गीतका भाखा र शब्द बिर्सिसक्नुभएको छ ।

राग र तालको भावमा डुबेर केटाकेटी पक्षबीच यानीमाया गाउने गरिन्छ । केटा पक्षले गाएको गीतको आधा टुक्कामा भाव र अन्त्यानुप्रास मिलाएर केटी पक्षले फकार्उने गर्छन् । गीतमा मानवीय संवेदनादेखि सामाजिक विषयवस्तु पनि उठान गर्ने गरिन्छ । विशेषगरी आपसी प्रेम र सद्भाव यानीमायाको केन्द्रीय भाव पक्ष हो । यानीमाया ढिलो तालमा राग अलापेर गाइने गीत हो । तत्कालीन समाज, जीवनशैली र दिनचर्याको झल्को दिने मौलिक भाखा यानीमाया उत्थान र प्रवद्र्धन गर्न आवश्यक रहेको कला क्षेत्रका व्यक्ति बताउँछन् ।