असिनापानीले गाउँ उजाड

दुल्लु– ‘दही खानु दैवले लैगो, मही खानु हराई गो ।’ हुन त यो पश्चिमेली लवजको पुरानो गीत हो । तर, यही गीत यहाँका नागरिकका लागि वास्तविकतामा परिणत भएको छ । साठ्ठी वर्षीया खडके वडले आफ्ना व्यथा सुनाउँदै गुनगुनाएको यो गीतले यहाँका नागरिकको कथा र व्यथा समेटेको छ । भित्र्याउने तरखरमा रहेको हिउँदे बाली चैत २२ गते साँझ आएको असिनापानीले सखाप पारेपछि यहाँका नागरिकहरूलाई सहिनसक्नु पीडा भएको छ । चैत २५ गते ती गाउँ पुग्दा केही पनि बाँकी नरहे जस्तो उजाड देखिन्थ्यो । पहेलपुर गहुँबाली सबै ढलेका थिए । मानिसहरू मलिन अनुहारमा कहिले घर भित्र त कहिले बाहिर गरिरहेका । केही असिनापानीले नष्ट पारेको उजाड बारी हेरिरहेका । असिनापानीले बाली स्वाहा पारेकाहरू राहतका लागि स्थानीय सरकारसँग हारगुहार गरिरहेका थिए । उनीहरू छिन छिनमा भक्कानिन्थे ।

हारगुहार गर्ने पीडितमध्येका एक थिए, खडके वड । बोल्ने वाक्य ऊसँग थिएन । गहभरीका आँशु तप्प तप्प खसाल्दै पीडा सुनाउन उनी अघि सरे, एकैछिन रोकिए र भने – “जेनतेन छ महिना खान पुग्ने गहुँ लगाएका थियौं, त्यो पनि असिनाले लग्यो । हामी अब के खाएर बाँच्ने ?” यति भन्दा पनि उनका पीडा सकिएका थिएनन् । “आफू मात्र भएको भए एक छाक टार्न मजदूरी गरेर खान्थें, घरमा १७ जनाको परिवार छ,” वड भन्छन् – “तिनलाई म एक्लैले गरेको मजदूरीबाट कमाएको पैसाले खान लाउन पुग्दैन, साहुले पनि पत्याउँदैन ।”

उनी मात्रै होइन यहाँकी जैसी नेपालीको पीडा पनि सहिनसक्नु छ । रुँदा रुँदा थाकेजस्तो मलिन अनुहार लिएकी तिनले भनिन् – “हाम्रो नाम पनि टिपेर लगिदिनुहोला सरकारले केही सहयोग गर्छ कि ।” उनका पीडा सुनेपछि त्यहाँ पुगेका सबैका आँखा रसाए, गला अवरुद्ध भए । घरमा एक छोरो, बुहारी र नाति नातिनी रहेका नेपालीले भनिन् – “छोरा र बुहारी आफूबाट छुट्टिएर बसेका छन,् श्रीमान् छैनन् ।”

यता, चामुण्डाविन्द्रासैनी नगरपालिकाकी गौरा विकको व्यथा पनि उस्तै छ । यो वर्ष पाँच महिनासम्म आफ्नै उत्पादनले पुग्नेमा उनी ढुक्क थिइन । समयमै पानी पर्दा गौराले लगाएका हिउँदे खेती विगतका वर्षको तुलनामा आशलाग्दो थियो । “तीन महिनाको चामल किन्ने पैसा बचाएर यस पटक साहुको ऋण तिर्ने योजना बनाएको थिएँ,” उनी भन्छिन् – “त्यो सपना चकनाचूर भयो ।”

“गाउँमा साहुको ऋण तिर्न बाँकी छ, साहुले उधारो चामल पत्याउदैन, बेसाह गरेर खाने ठाउँ छैन, सबैले लगाएको हिउँदे खेती नष्ट गरिदियो,” उनी भन्छिन् । यस्तै पीडा यहाँका सबै वडाका करीव चार हजार घरधुरीमाथि परेको छ ।

असिनापानीले दैलेखको पश्चिम क्षेत्रमा पर्ने ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा लगाएको हिउँदे बाली नष्ट गरेपछि प्रभावित गाउँहरू उजाड भएका छन् भने पीडितहरू छिन छिनमा भक्कानिने गरेका छन् । ठूलो मात्रामा परेको असिनापानीले कृषकले लगाएका सबै बाली नष्ट गरेपछि यो क्षेत्रमा भोकमरी निम्तने खतरा बढेको छ । झण्डै ४० मिनेटसम्म लगातार परेको असिनापानीले कृषकले लगाएको गहुँ, बन्दा, सिमी, काउली लगायतका बाली नष्ट गरेपछि भोकमरीको त्रास देखापरेको हो । खाने अन्न नभएपछि असिनापानी पीडितहरू राहतका लागि हारगुहार गरिरहेका छन् । ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले पीडितलाई उचित राहत दिने आश्वासन दिएका छन् । दैलेख पश्चिममा पर्ने चामुण्डाबिन्द्रासैनी नगरपालिका र ठाटीकाँध गाउँपालिकाकाले उपलब्ध गराएका जानकारी अनुसार प्राकृतिक विपद्ले करीव ३५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

जिल्लाभर क्षति

चामुण्डाबिन्द्रासैनी नगरपालिकाको वडा नं १ देखि ९ सम्मका सबै भागमा असिनापानीले व्यापक क्षति गरेको छ । नगरपालिकाले क्षतिको विवरण सङ्कलन कार्य शुरु गरिसकेको छ । पचास वर्षपछि यति ठूलो असिनापानी आएको हो । करीव दुई फिटसम्म जम्ने गरी असिना पर्दा गहुँको बाली नष्ट भएको स्थानीयवासीले बताएका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै सबैलाई धैर्य गर्न आग्रह गरेको छ । विवरण सङ्कलन कार्यसँगै सहयोगका लागि विभिन्न निकायहरूसँग आशा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विपद्पछि टाठीकाँध गाउँपालिका, चामण्ुडाबिन्द्रासैनी नगरपालिकालगायत पश्चिमका अधिकाँश क्षेत्रमा तरकारी, फलफूल, गहुँ, जौ जस्ता सबै उपज नष्ट भएपछि गाउँपालिकाले प्रारम्भिक क्षतिको विवरण निकालेको छ । ठाटीकाँध गाउँपालिकामा करीव २० करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको गाउँपालिकाकी उपाध्यक्ष सुष्मिता सिंहले जानकारी दिइन् ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको छ । क्षति व्यवस्थापन स्थानीय सरकारको मातहतमा नभएका कारण प्रदेश र केन्द्र सरकारले यसबारे ठोस कार्य अगाडि बढाउन स्थानीय सरकारले अपिल गरेको छ ।

यता, दुल्लु नगरपालिकाका वडा नं २, ३ र ९ मा बालीनाली, बोटबिरुवा र घरका छानामा पूरै क्षति पुगेको छ । आठबीस नगरपालिका वडा नं ९ मा पनि हुरी र असिनाले पूर्ण क्षति पु¥याएको छ । गुराँस गाउँपालिकाका १, २ र ३ मा पूर्ण र वडा नं ४ मा पनि आंशिक क्षति पुगेको छ । बाँकी विवरण सङ्कलन भइरहेको प्रभावित क्षेत्रका स्थानीय तहले जानकारी दिएका छन् ।

६ करोडको तरकारी नष्ट

ठाटीकाँध गाउँपालिकामा किसानहरूले उत्पादन गरेको तरकारी बाली पूर्णरूपमा क्षति भएको छ । बन्दा, काउली, लसुन, प्याज, लगायतका तरकारी बालीसँगै वर्षात्का बेलामा फल्ने अवस्थामा रहेको फर्सी, चिचिन्ना लगायतका बाली नष्ट भएपछि यहाँका किसानको आर्थिक उपार्जनको बाटो बन्द भएको छ । ठाँटीकाँध गाउँपालिकामा मात्रै ६ करोड रुपैयाँ बराबरको तरकारी बाली नष्ट भएको गाउँपालिकाकी उपाध्यक्ष सिंह जानकारी दिइन् । किसानहरूले घरमा भित्र्याउने अवस्थामा रहेको गहुँबालीसँगै अन्य हिउँदे बाली नष्ट भएपछि यसको क्षतिपूर्ति र थप व्यवस्थापनका लागि स्थानीय सरकारसँग अख्तियार छैन । यस्तो विपद्मा प्रदेश र केन्द्र सरकारले पहलकदमी लिनुपर्ने ठाटीकाँध गाउँपालिकाका अध्यक्ष शाहीको जोड छ । “हामी स्थानीय सरकारले गर्न सक्ने त गरौंला तर गाँस मानिसको सबैभन्दा ठूलो विषय भएकाले यसको थप व्यवस्थापनका लागि सरकारले पहल गर्नुपर्दछ,” अध्यक्ष शाहीले भने – “ठाटीकाँधमा रहेको खाद्य डिपो तत्कालीन द्वन्द्वका बेलामा विस्थापित भएकाले पुनः सञ्चालनमा ल्याउन सरकारले पहल थाल्नुपर्छ ।”

दैलेखमा असिनापानीले ठूलो क्षति पारेपछि तत्काल राहत जुटाइदि प्रतिनीधिसभा र प्रदेशसभा सांसदले माग गरेका छन् । प्रतिनिधिसभा सदस्य राज बहादुर बुढाले दैलेखमा आएको अहिलेसम्मकै सबैभन्दा ठूलो हुरिबतास र असिनापानीले प्रभावित परिवारलाई राहतको व्यवस्था गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभा सदस्य पार्वती कुमारी विशुन्केले जिल्लामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न आग्रह गरेकी छन् । कर्णाली प्रदेशसभामा दैलेखबाट प्रतिनिधित्व गर्ने सांसद सुशील कुमार थापा, मीनासिंह रखाल र हिम बहादुर शाहीले पनि असिनापानी पीडितलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।