अपडेट : श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो

कोलम्बो– श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या आइतबार साँझसम्म २०७ पुगेको प्रहरी तथा अस्पताल स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत रहेका बताइएको छ भने सवैस्थानमा गरी कम्तीमा २०७ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता रूवान गुनशेकराले पुष्टि गर्नुभयो । बिस्फोटका कारण अरु करिब ४५० व्यक्ति घाइते भएका बताइएको छ । घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने सम्भावना रहेको यहाँका अधिकारीहरूले बताएका छन् ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटल र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा भएका बिस्फोटमा परी उनीहरूको मृत्यु भएको हो ।

चर्चसहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ । “राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन्” उनले भने ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ ।

यहाँको रक्षा मन्त्रालयले आक्रमणबारे अनुसन्धान भइरहेको तर अहिलेसम्म आक्रमणको कसैले जिम्मेवारी नलिएको बताएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको समवेदना

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीलाई शान्त रहन अनुरोध गरेका छन् । उनले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आतङ्कवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्य रहन, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा हमलाकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताएका छन् । घटनाको विश्वभरबाट निन्दा भएको छ । एएफपी