काङ्ग्रेसको जागरण अभियानको यस्तो छ कार्यतालिका

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बुधबार मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गर्दैछ । सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । काङ्ग्रेसले भोलि वैशाख २५ गतेदेखि शुरु हुने अभियानको प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको जनाएको छ ।

काठमाडौँमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गर्नेछन् । अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले उद्घाटन गर्नुहुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुनेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने उनले बताए ।

प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुनेछ कार्यक्रम तालिका छ । अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र काङ्ग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको छ ।

सदस्यता वितरणदेखि अभिलेख सङ्कलनसम्म

जागरण अभियानका सबै उद्घाटन कार्यक्रम र भाषण छरितो ढङ्गले सम्पन्न हुनेछन् पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जागरण अभियानअन्तर्गत अभियानको उद्देश्य सम्प्रेषण गर्ने, सदस्यता वितरण गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीको अभिलेख सङ्कलन कार्यक्रमलाई तीव्रता दिने र सङ्घर्षकालका ऐतिहासिक घटनास्थलमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गरिनेछन् ।

त्यस्तै पार्टीका पुराना अग्रजलाई सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसीस्थिति बुझ्नाका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाव ग्रहण गर्ने, शहीदका घरपरिवार भेट्ने, श्रद्धा प्रकट गर्ने तथा मुलुक र पार्टीका लागि सुझावसमेत लिइने बताइएको छ । सो अवसरमा पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा विजयी भएकाहरुसँग पार्टीको चुनावी घोषणापत्र र नागरिकको अपेक्षा अनुरूपका काम के–कस्तो रुपमा भएका छन् भन्ने सम्बन्धमा समेत समीक्षा कार्यक्रम गरिने बताइएको छ ।

परिमार्जित विधानमा उल्लेख भएबमोजिम पार्टीका तर्फबाट विभिन्न तहमा विजयी या उम्मेदवार र पार्टीको सम्बन्धित तहको कार्यसमितिबीच मासिक नियमित बैठकको प्रारम्भका लागि प्रथम बैठक आयोजना गरिनेछ ।

सातै प्रदेशमा शीर्षनेताको सम्बोधन

राष्ट्रिय जागरण अभियान मुलुकभरका साथै विदेशस्थित पार्टीका जनसम्पर्क समितिमा समेत सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । सातै प्रदेशमा पार्टी पदाधिकारी र शीर्ष नेतृत्वले सम्बोधन गर्नुहुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सुदूरपश्चिमको धनगढीमा उपसभापति विमलेन्द्र निधि, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव, प्रदेश नं ५ को रुपन्देहीमा महामन्त्री डा शशाङ्क कोइराला, गण्डकी प्रदेशको पोखरामा अर्का महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश नं २ को धनुषामा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रदेश नं १ को सुनसरीमा अर्का उपसभापति विजयकुमार गच्छदारले सम्बोधन गर्ने तय भएको उनले बताए ।

अभियानअन्तर्गत भिन्न भ्रातृ संस्था भिन्न मुद्दाका कार्यक्रम, आसनग्रहणमा परम्परागत शैलीको अन्त्य, स्वागत र विसर्जनबाहेक तीन वक्ता मात्र रहनेछन् । प्रवक्ता शर्माका अनुसार विषय प्रवेश, महिला वक्ताको मन्तव्य, प्रमुख अतिथिको मन्तव्य रहने र कार्यक्रमको मूल ब्यानर र प्रचार सामग्री देशव्यापीरुपमा सबै तहमा एउटै हुनेछ । यस अभियानमा ब्याज वितरण र धेरै तौलको मालाले स्वागत गर्ने परम्पराको अन्त्य हुनेछ ।

प्रवक्ता शर्माले अभियानका लागि मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरी १२ भाषामा पार्टीको जागरण गीतको व्यवस्था गरेको अवगत गराए । पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले अभियानलाई थप प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको छ । त्यस्तै पार्टीको केन्द्रीय अनुशासन समितिले अभियानलाई अनुशासित र व्यवस्थित बनाउन ‘डेमोक्र्याटिक लयर्स एशोसियसन’को राष्ट्रव्यापी संरचनालाई पर्यवेक्षण अभिभारा सुम्पिइएको काङ्ग्रेसले जनाएको छ ।