जापानी कार कम्पनी निसानको नाफा ५७ प्रतिशतले घट्यो

टोकियो, जापान (रासस/एएफपी)– आर्थिकरूपले सङ्कटग्रस्त जापानी कार कम्पनी, निसानले मङ्गलबार आफ्नो यस आर्थिक वर्षको नाफा यो दशकमा नै सबैभन्दा न्यून रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

कम्पनीले सन् २०१९ को मार्चसम्ममा आफ्नो नाफा जम्मा दुई अर्ब ९० करोड अमेरिकी डलर (तीन खर्ब १९ अर्ब जापानी येन) रहेको र यो नाफा रकम विश्वले आर्थिक मन्दीको सामना गरिरहेको सन् २००९÷२०१० पछिकै सबैभन्दा न्यून रहेको बताएको छ ।

निसानका पूर्व प्रमुख कार्लोस गोउनलाई आर्थिक अनियमितताको आरोपमा पक्राउ गरेपछि कम्पनीको कारोबारमा समस्या देखिएको हो । नेतृत्वको अभावको सामना गरिरहेको कार कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष ५७ प्रतिशतले घटेको बताइएको छ ।

चालू आवमा निसानको घाटा एक खर्ब ७० अर्ब जापानी येन रहने प्रक्षेपण कम्पनीको रहेको छ ।

निस्सानका प्रमुख कार्यकारी अधिकारी शिरोतो साइकावाले भने, “कार्यसम्पादन एकदमै चुनौतीको अवस्थामा रहेको छ तर हामीले यसलाई सुधार गर्ने प्रयासमा लागिरहेका छौँ ।”

“मङ्गलबारको तथ्याङ्कले कम्पनीलाई अपेक्षाभन्दा निकै न्यून नाफा भएको देखाउँछ,” उनले भने । “कृपया हामीलाई पुरानो अवस्थामा फर्कने समय दिनुहोस् ।”

कम्पनीका प्रमुख रहेका समय गोउनको पक्राउले कम्पनीलाई एकातिर नेतृत्वको समस्या भएको देखिन्छ भने अर्कोतिर कम्पनीमा भएको अनियमितताको खबरले कम्पनीको ख्यातिसमेतमा प्रभाव परेको छ । गोउनमाथि आर्थिक अनियमितताका विभिन्न चार आरोप लागेका छन् भने उनले ती आरोपको खण्डन गर्दै आएका छन् ।

साइकावा भन्छन्, “कम्पनीले अहिलेको अवस्थामा पूर्व व्यवस्थापनबाट विरासतका रूपमा केही नकारात्मक कुराहरूको सामना गर्न बाध्य छ । तपाईँहरूलाई वास्तविकता भन्नुपर्दा कम्पनीले आफ्ना प्रमुखलाई आर्थिक अनियमितताको आरोपमा पक्राउ गरेपछि केही समय आफ्नो व्यावसायिक गतिविधिमा ध्यान दिन केही अलमल भएकै हो र यसको परिणाम कम्पनीको आम्दानी तथा कूल नाफामा देखिनु नौलोजस्तो मलाई लाग्दैन । तर हामीले कम्पनीलाई पूर्ववत् अवस्थामा छिट्टै फर्काउने छौँ ।”

तर विश्लेषकहरूले निसानजस्तो जापानी कार कम्पनीलाई गोउनको अनुपस्थितिमा अघि बढाउँदा कैयौँ समस्याहरू भएका बताउँछन् । निस्सानको फ्रान्सेली सवारी कम्पनी रेनल्टसँगको सहकार्यमा देखिएको निरन्तरको बिग्रँदो सम्बन्धका कारण पनि यसका नयाँ उत्पादनमा समस्या भएको हो ।

साइकावाले भने, “यस वर्ष जापान र चीनमा निसानको विक्री बढ्न थालेको छ तर अमेरिका र युरोपमा ‘कठिन’ परिस्थिति रहेको छ ।”