दासढुङ्गामा स्मृतिसभा

चितवन– मदन भण्डारी र जीवराज आश्रित चढेको जीप दुर्घटना भएको स्थल दासढुङ्गामा आज स्मृतिसभा सम्पन्न भएको छ ।

तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रित चढेको जीप विसं २०५० जेठ ३ गते कविलासको दासढुङ्गाबाट त्रिशूलीमा खस्दा उनीहरुको निधन भएको थियो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पहिलो पटक स्मृतिसभाको आयोजना गरेको हो । सो सभामा पार्टीका नेता काशीनाथ अधिकारीले शोकलाई शक्तिमा बदलेर उनीहरुको सपना पूरा गर्नेतर्फ अघि बढ्नुपर्ने बताए ।

विगत र भविष्य हेरेर पार्टीको रणनीति र कार्यनीति तत्कालीन महासचिव भण्डारीले तय गर्ने गरेको अधिकारीको भनाइ थियो । सोही अवसरमा प्रदेश नं–३ का भूमि व्यवस्थामन्त्री दावादोर्जे लामाले नेपाली जनतालाई समृद्धिको मार्ग र सुशासनतर्फ लैजाने काममा एक ढिक्का भएर पार्टीलाई अघि बढाउनु नै उनीहरुप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताए ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल, कृष्ण खनाल, जिल्ला सचिव कृष्णभक्त पोख्रेललगायतले भण्डारी र आश्रितले पार्टीलाई पु¥याएको योगदानबारे चर्चा गरेका थिए ।

विसं २०५० जेठ ३ गते पोखरामा भएको पार्टीको भेला सकेर भोलिपल्ट पूर्वी चितवनको चैनपुरमा हुने अखिल नेपाल महिला सङ्घको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आउने क्रममा उनीहरु चढेको जीप दुर्घटनामा परेको थियो । आश्रितको शव घटनास्थल नजिकै भेटिएको थियो भने भण्डारीको शव पश्चिम चितवनको गाजापुरमा फेला परेको थियो ।