अब घर–घरमै सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले हरेक घरमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी पम्प्लेट टाँसेको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो तथा उपलब्धीमूलक बनाउने उद्देश्यले ७ नम्बर वडास्थित दोर्पाचिउरीडाँडाका सम्पूर्ण घरमा उक्त सन्देश उल्लेखित पोष्टर टाँसिएको हो ।

पोष्टरमा सकेसम्म स्वदेशमै रोजगारी गरौँ, यदि विदेश जाने नै भए सही सूचना र सीप लिएर मात्र जाऔँ’ भन्ने सूचनासहितको सामग्री ६१० घरको भित्ताभित्तामा टाँसिएको छ । वडाबाट परिचालित स्वयंसेवक मानबहादुर भुजेलका अनुसार उक्त सन्देशमूलक सामग्रीमा वैदेशिक रोजगारमा जान तयार युवाका लागि आवश्यक पर्ने सूचना तथा जानकारी पनि दिइएकोे छ ।

सन्देश सामग्रीमा सीप तालीमको महत्व, आवश्यक कागजपत्र, सुरक्षा, भर्पाइ तथा प्रमाण, पुनः श्रम स्वीकृति, नेपालकै विमानस्थल प्रयोग गर्न र अप्ठ्यारो पर्दा सहयोग गर्ने संस्थाको बारेमा जानकारी गराइएको छ । यसबाहेक अन्य प्राविधिकलगायत जानकारीमूलक सूचना तथा सन्देशसमेत उक्त पर्चामा उल्लेख गरिएको छ ।

वडा कार्यालयको यस्तो गतिविधिले वैदेशिक रोजगारीमा जाने युवा सुरक्षित हुन मद्दत पु¥याउने आप्रवासी स्रोत (सूचना) केन्द्र दिक्तेल शाखाले जनाएको छ । यस्ता सूचना तथा सन्देश जिल्लाका सबै स्थानीय तहका सबै वडाले प्रयोगमा ल्याउनु आवश्यक देखिएको उक्त केन्द्रका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए ।

हरेक घरमा यस्तो सूचना पु¥याइएपछि परिवारका सदस्य तथा आफन्तले कम्तीमा पनि उक्त सूचना आफैँ हेर्ने वा सुन्ने र प्रयोगमा ल्याउने हुनाले यसले वैदेशिक रोजगारमा जाने युवालाई सुरक्षित बनाउने उनँको भनाइ थियो ।

यसैबीच खोटाङस्थित केपीलासगढी गाउँपालिकाले वैदेशिक रोजगारीसम्बन्धी प्रोफाइल निर्माण गर्न लागेको गरेको छ । गाउँपालिकाभित्र वैदेशिक रोजगारको अवस्थासम्बन्धी सम्पूर्ण जानकारी समेटी त्यसलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक बनाउने उद्देश्यले प्रोफाइल निर्माण गर्न लागिएकोे बताइएको छ ।

त्यसका लागि गाउँपालिकाभित्र रहेका सातै वडामा एकै साथ तथ्याङ्क सङ्कलन शुरु गरिएको र सोही तथ्याङ्कको आधारमा प्रोफाइल तयार गरिने कार्यक्रम संयोजक आचार्यले जानकारी दिए ।