पत्रकारलाई यातायात भाडामा ५० प्रतिशत छुट

रारा– मुगु जिल्ला प्रधान कार्यालय रहेको रारा छायाँनाथ यातायात प्रालिले यहाँ कार्यरत पत्रकारलाई आफ्ना सवारीसाधनको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

यातायात प्रालिको शनिबार सम्पन्न भएको प्रथम साधारणसभाले पत्रकारलाई यस्तो छुट दिने निर्णय गरेको हो ।

साधारणसभाले नवराज चौलागाईंको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । सभाले वरिष्ठ उपाध्यक्षमा कालीबहादुर रावल, उपाध्यक्षमा गोविन्द्र भाम, महासचिवमा नेताप्रसाद चौलागार्इं, सचिवमा अजबहादुर सेजुवाल, कोषाध्यक्षमा गगनबहादुर बुढासहित ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।

पत्रकार आफँैमा आर्थिक रुपले सम्पन्न नहुने र समाचार सङ्कलनका लागि हरेक ठाउँ बस्तीमा जानुपर्ने भएकाले उनीहरूको समस्यालाई मध्यनजर गरेर आफ्ना हरेक रुटमा चल्ने साना तथा ठूला सवारीसाधनको भाडामा पत्रकारलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष चौलागाईंले बताए ।

छुटका लागि प्रालिले पत्रकारलाई छुट्टै परिचयपत्रको व्यवस्था गर्ने र सोही आधारमा पत्रकारले छुट पाउने पनि उनले बताए । प्रालिले गरेको निर्णयलाई स्वागत गर्दै छुट कुनै पनि अनैतिक कार्यको स्वार्थसँग सम्झौता नहुने शर्तमा ग्रहण गर्ने पत्रकार महासङ्घका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बताए ।

रारा छायाँनाथ यातायात प्रालि साविकको कर्णाली अञ्चलमा कम्पनी रजिष्ट्रारको कार्यालयमा यातायात सेवा दिने भनी दर्ता हुने पहिलो संस्था हो । सरकारले यातायात समिति सेवामुखी मात्र नभएर नाफामुखी भएको भन्दै सङ्घ र समितिका नाममा जिल्ला प्रशासनमा हुने दर्ता रोक्दै हाल कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुन बाध्यकारी नियम बनाएको छ ।