मेलम्चीको काम पुनः शुरु

काठमाडौँ– इटालीयन ठेकेदार कम्पनी सिएमसीले अलपत्र पारेर छाडेको मेलम्ची खानेपानी आयोजनाको काम पुनःशुरु भएको छ । सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको छ । आयोजनाका काम गत पुसदेखि ठप्प छ । निर्माण ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य शुरु गरेको छ ।

आयोजनाका सुरुङभित्र गरिने ‘भेन्टिलेसन साफ्ट’को कामलाई समितिले अगाडि बढाएको छ भने सुन्दरीजलमा बढी भएको पानी बाग्मतीमा खसाल्ने ‘आउट फल’को काम पनि शुरु भएको छ ।

समितिले मेलम्ची आयोजनाको सुरुङ ‘फिनिसिङ’ र ‘हेड वक्र्स’ निर्माणको कार्य अघि बढाउन दुई वटा मुख्य प्याकेजको राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । जसमा सुरुङ फिनिसिङका लागि गरिएको बोलपत्र (टेण्डर) आह्वानको समय सकिएकाले यसको मूल्याङ्कन भइरहेको छ ।

हेडवक्र्स (मुहानको संरचना) निर्माणका लागि गरिएको बोलपत्रको अन्तिम समयावधि असार १६ गतेसम्म रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । “अब मेलम्चीको काम शुरु भइसकेको छ । शुरुआती चरणमा ‘भेन्टिलेसन साफ्ट’का लागि ‘ड्रिलिङ’को काम शुरु भएको छ”, प्रवक्ता शाक्यले भने, “उता सुन्दरीजलमा पानीको आउट फलका लागि काम अघि बढाइएको छ ।”

मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार मेलम्ची आयोजनाको बाँकी कामलाई मुख्य दुई वटा प्याकेजमा विभाजन गरिएको र त्यसभित्र स–साना गरी १० वटा प्याकेजमा बाँडिएको छ । “पहिलो प्याकेजमा हेड बक्सअन्तर्गत ड्याम निर्माण र पुल निर्माणलगायत छन्”, उनले भने, “दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट निर्माण र भेन्टिलेसन साफ्टलगायत निर्माण कार्य छन् । अब मेलम्चीमा देखिएको अन्योलता समाप्त भएको छ ।”

सुरुङ फिनिसिङ कार्यका लागि गरिएको बोलपत्र आह्वानमा बोलपत्र दर्ता गरेका कम्पनीको मूल्याङ्कन गरी छिट्टै अन्य बाँकी काम सञ्चाचलन गर्ने तयारी मेलम्ची समितिले गरिरहेको छ । एक महीनाअघि मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानूनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो । सोहीअनुसार मन्त्रालयले समितिलाई मेलम्चीको काम तत्काल शुरु गर्न निर्देशन दिएकाले काम अघि बढेको हो ।

गत पुसमा इटालीयन कम्पनी सिएमसी दि राभेनाले आफू आर्थिकरुपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी काम छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो । रोकिएको मेलम्चीको काम अघि बढाएर तोकिएको समयभित्रै काठमाडौँमा पानी ल्याउन सरकार गम्भीर भएर लागेको प्रवक्ता शाक्यले बताए ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याइनेछ । याङ्ग्री र लार्के खोलाको पानी ल्याउन मेलम्चीको पहिलो चरणको सुरुङ निर्माणको काम अघि बढ्ने भएपछि एशियाली विकास बैंक (एडिबी) याङ्ग्री र लार्केको सुरुङलगायत अन्य संरचनामा लगानी गर्न इच्छुक देखिएको छ । यसअघि एडिबीले पहिलो चरणको मेलम्चीको काम सम्पन्न गर्न सरकारलाई आग्रह गरेको थियो ।

मन्त्रालयले अब दोस्रो चरणको मेलम्ची आयोजनाको काम अघि बढाउने तयारीसमेत गरेको छ । परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्र्री र लार्केको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मेलम्ची खानेपानी विकास समितिलाई बुझाइसकेको छ । इप्टिसाले डिपीआरलाई अन्तिम रूप दिएर समितिलाई बुझाएको हो ।

सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाबाट दैनिक १७÷१७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । ती खोलाबाट थप पानी काठमाडौँ ल्याउन निर्माणको कार्य शुरु गर्न लागिएको हो । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमी छ ।

मेलम्चीको अम्बाथान (हेडबक्स) बाट दुई किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङ्ग्रीको मुहानसम्म दुई किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधैँ मेलम्चीको हेडबक्र्स अम्बाथानमा मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङ्ग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी सुरुङका माध्यमबाट अम्बाथानदेखि २७ किलोमिटर टाढा सुन्दरीजलमा ल्याइनेछ ।