मेरो प्यारो शान्तिनगर अनि ठुटेबर

शान्तिनगरको पर्यायबाची ठुटेबर, त्यो चौतारी

आउने जाने बटुवा बस्नलाई गर्मीको छेलपारि

पुस्तौँ पुस्ताको इतिहास बोकी बसेको गाउँ माझमा

दुःखका भारी विसाउने थलो गोधुली साँझमा ।

आफू ढल्यो तर पनि इतिहासमा तिम्रो नाम अमर

झझल्को मा ठुटेबर कै पारि त्यो प्यारो माइतीघर

कति शिशु प्रौढ बने यहाँ लहरामा तिम्रो झुल्दै

बटुवा थकाइ मार्न पुग्दथे पुर्वमा गगन नखुल्दै ।

 

अवसान हुन नदिनु काका इतिहास ठुटेबरको

बोकेर बसेको शान्तिनगरको कहानी घर घरको

उखु सुन्तला खाइन्थ्यो कार्तिक पुर्णिमा मेलामा

गगन ले घुम्टो उघारेर चियाबारी हेरेको बेलामा

पहेँलपुर धान झुलेको देख्दा मनै हर्षित बन्दथ्यो

नजाउ छोडी मेरो मोहकता शान्तिनगर भन्दथ्यो ।

 

बाध्यता थियो छोड्नै पर्यो आज छु कोशौँ टाढा

तर पनि तिम्रो त्यो सम्झना छ अझै मनमा गाढा

सपनीमा आज ठुटेबर मै सपरिवार साथ थिएँ

तिम्रै यादको कोशेली बोकेर मिर्मिरे मा ब्युझिएँ ।

रेणु कार्की, इरौँटार, इलाम, हाल (कतार)