गीत–संगीतमा घुस्यो राजनीति, शम्भु राईलाई कारबाही गर्न सांसद्ले गरे माग

काठमाडौं– प्रकाश सपुतको गीत ‘गलबन्दी’ गायक/संगीतकार शम्भु राईको पुरानो गीत ‘आउ नाचौँ…’को गीतको भाखा चोरिएको आरोपले यतिबेला सांगीतिक बजार तातिरहेकै बेला आज संसद्मा पनि सोही विषयको प्रवेशसँगै गीत–संगीतमा पनि राजनीतिकरण भएको बताइएको छ ।

नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले जातीय द्वन्द्व भड्काउने काममा सरकार लागेको आरोप लगाएका छन् । उनले सरकारले सामाजिक सद्भाव र जाति–जातिका बीचमा र नागरिक–नागरिकबीचमा नै द्वन्द्व गराउन चाहेको आरोप लगाएका छन् ।

‘गलबन्दी च्यातियो तिमीले तानेर’ बोलको गीत गाउने गायक प्रकाश सपुत र शान्ति श्री परियारमाथि जातीय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्धा लगाउने काम भएको र सत्तारुढ दलकै सांगीतिक क्षेत्रमा आवद्ध भात्तृसंस्थामा आवद्ध शभ्भु राईले आफ्नो लय नक्कल गरेको भनी मुद्धा हालेको प्रसङ्ग उल्ल्लेख गर्दै उनले गाउँघरमा मेलापात जाँदा स्वत–स्फुर्त गाउने भाका नै लोकभाका भएको भन्दै सामान्य कलाकारले मन छुने गरी प्रस्तुत गरेको गीतमा नक्कल भयो भनी मुद्दा हाल्न पुग्नु लज्जास्पत भएको टिप्पणी गरे ।

उनले भने, ‘शम्भु राई र उनका मतियारहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावको दृष्टिले अति नीच गाली गर्नुको साथै उनलाई हत्तोत्साहित गराउन लागि परेको देखिन्छ । त्यत्तिमात्रै होइन संविधान, कानुन र सामाजिक सद्भावको बर्खिलाप हुने गरि सिंगो दलित समुदायलाई अपमानित हुने गरि उनीहरुमाथि नीच ढंगले जातिय भेदभाव र अपमान गरेको हुनाले साइबर कानुन अन्र्तगत, जातीय छुवाछुत तथा भेदभाव कसुर ऐन २०६८ अन्र्तगत र संविधानको धारा २४ अन्तर्गत उनीहरुलाई तत्काल काराबाहीको दायरामा ल्याउन माग गर्दछु ।’

सामाजिक सञ्जालमा जातीय भड्काउ ल्याउन खोजेको भन्दै विश्वकर्माले प्रकाश सपुत विरुद्ध मुद्धा हाल्ने शम्भु राईलाई र सामाजिक सञ्जालमा गाली गलौच गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । यदि सरकारले कारवाही नगरे सिंगो दलित समुदाय अन्दोलनमा उत्रिनेसमेत चेतावनी दिए ।