मान्छे एक दिनमा कति मिनेट अरुको कुरा काट्छ ?

काठमाडौं- चाहे जोे जस्तो सुकै मानिसहोस् दिनमा एकपटक भएपनि आफ्ना अगाडि नभएको मान्छेको कुरा गरेकै हुन्छ ।

एउटा नयाँ अनुसन्धानपछि युनिभर्सिटी अफ क्यालिफोर्नियाका अध्ययनकर्ताहरुले मान्छेले दिनमा करिब १ घण्टा अरुका पछाडि कुरा गर्ने अर्थात ‘गसिप’ गरेर बिताउने गरेको खुलासा गरेका छन् ।

यसका लागि उनीहरुले ४सय ६७ मानिसमा अध्ययन गरेका हुन् । सहभागी सबैमा एउटा सानो पोर्टेबल रेकर्डर लगाइएको थियो र दुईदेखि पाँच दिनसम्म उनीहरुका सबै संवाद र अन्तरक्रियाहरु अध्ययन गरिएको युनिभर्सिटीले जनाएको छ ।

यसरी सबै रेकर्डिङको विश्लेषण गर्ने क्रममा नै एउटा सामान्य व्यक्तिले कम्तीमा पनि दिनको ५२ मिनेट अरुका बारेमा कुरा गर्ने गरेको पत्ता लागेको हो तर अध्ययनमा केबल १५ प्रतिशतले मात्र कुरा काट्नेलगायत नकारात्मक कुरा गर्ने गरेको पाइएको छ ।

अध्ययनकी उपप्रमुख तथा विश्लेषक मेगान रोबिन्स भन्छिन्, ‘वास्तवमा हामीले अरुबारे गरिने अधिकांश कुराहरु नकारात्मक, सकारात्मक केही नहुने गरेको पाएका छौँ । अनुसन्धानपछि मानिसहरुले गसिप गर्दा प्रायः तटस्थ अभिव्यक्ति दिने वा ‘न्युट्रल’ रहने गरेको पाइएको हो ।’

उनका अनुसार रेकर्डिङका तीन चौथाइ संवाद सकारात्मक वा नकारात्मक केही भन्न मिल्दैन । यसमा आफ्नो अगाडि नभएका मानिसबारे गरिएका सबै कुरालाई ‘गसिप’ का रुपमा लिइएको थियो जसलाई अनुसन्धानकर्ताहरुले सकारात्मक, नकारात्मक र न्युट्रल गरी तीन थरीमा विभाजित गरेका हुन् ।

पुरुषले भन्दा महिलाले धेरै गसिप गर्ने गरेको पाइएको हो तर उनीहरुको कुरा प्रायः न्युट्रल किसिमको हुने वा जानकारीमा आधारित विषयमा रहने गरेको बताइएको छ । 

अधिकांश मानिसहरु गरिब र अशिक्षितहरुले धेरै गसिप गर्ने गरेको विश्वास गर्दछन् तर अनुसन्धानले सो भनाइ गलत साबित गरेको छ ।एजेन्सी