‘गलबन्दी’ गीत विवादमा शम्भु राईकै जित, संगीत सिर्जनामा राईको नाम थप्ने सहमति (हेर्नुहोस सहमतिपत्र)

काठमाडौँ ‘गलबन्दी च्यातियो …’ शीर्षकको गीतको सङ्गीत सिर्जनामा गायक तथा सङ्गीतकार शम्भु राईको नाम थपिने भएसँगै पुराना गायक शम्भु राईकै जित भएको छ । गीत विवादमा आएपछि राईले मुद्धा दायर गरेपछि आज उक्त गीतका गायक प्रकाश सपूत र राईबीच भएको छलफलमा नाम राख्ने गरी चार बुँदे सहमति भएको हो ।

सहमतिसँगै उत्पन्न विवाद समाधान भएको गायक सपूतले जानकारी दिनुभयो । राईको ‘देउसी भैलो’ बोलको गीतमा रहेको ‘आउ नाचौँ साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताउँ हाँसेर’, भन्ने लयसँग सपूतको ‘गलबन्दी’ बोलको गीतको ‘गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’ भन्ने अङ्शमा लय मिल्न गएको देखिएकाले सङ्गीत सिर्जनामा राईको समेत नाम राख्ने सहमति भएको आज संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

युट्युबको हकमा प्राविधिक रुपमा मिल्नेसम्म राइको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशनमा भने सोहीबमोजिम गरिने सहमतिमा जनाइएको छ । आर्थिक, प्रतिलिपि अधिकार तथा स्रष्टा, उत्पादक, प्रस्तोताले पाउने रोयल्टीमा सपूतकै अधिकार रहने र राईले दाबी नगर्ने सहमतिसमेत भएको छ ।

यस्तै सहमतिपत्रमा यही असार ५ गते प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय तथा अन्य सङ्घ संस्थामा राईले दिएको निवेदन फिर्ताका लागि निवेदन दिनेसमेत सहमति भएको छ ।

आजको छलफलमा सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष महेशकुमार खड्का, प्रस्तोतासमाज नेपालका महासचिव भीषण मुकारुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष रमेश विजी, राष्ट्रिय सङ्गीतकर्मी सङ्घका वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गानालगायतको उपस्थिति रहेको थियो ।

उक्त गीतको विषयलाई लिएर सामाजिक सञ्जालमा जातिगत रुपमा गरिएका गाली गलौजको विषयमा भने छलफल गरेर अगाडि बढ्ने गायक सपूतले जानकारी दिए । सो विषय संसद्मा समेत पुगेको थियो । सांसदहरुले जातीगत रुपमा गालीगलौज गर्नेलाई कारवाही गर्नसमेत माग गरेका थिए ।