नेयमारले किन बार्सिलोना आउने चाहना रहेको बताए ?

बार्सिलोना- ब्राजिलियाली अग्रपङ्तिका खेलाडी (स्ट्राइकर) नेयमार दा सिल्भा सान्तोस जुनियरले पेरिस सेन्ट जर्मन क्लबबाट पुनः बार्सिलोना फर्कन चाहेको बार्सिलोना फुटबल क्लबका उपाध्यक्षले बिहीबार बताएका छन् ।

करीब दुई वर्ष पहिले २५ करोड २० लाख अमेरिकी डलर पाउने भएपछि बार्सिलोना क्लबबाट बाहिरिएका नेयमारले फर्किन चाहेको कुरा विभिन्न सञ्चारमाध्यममार्फत आएको बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डनरले बताएका हुन् ।

ब्राजिलियाली घरेलु टोलीमा निकै ख्याति कमाएका नेयमारलाई पेरिस सेन्टमा रहँदा आर्थिकरूपमा त निकै फाइदा भएको छ तर उक्त क्लबबाट सोचेअनुसार प्रसिद्धि भने नआएकोले उनले बार्सिलोनामा आउने इच्छा व्यक्त गरेको भन्ने सुनिएको छ । नेयमार पुरानो क्लबमा फर्कन चाहेमा र क्लबले ल्याउने निर्णय गरे पनि उनले अहिले पाइराखेको पारिश्रमिकमा भने फिर्ता ल्याउन नसकिने क्लबका अधिकारीले बताएका छन् ।

क्याम्प नोउमा पत्रकार सम्मेलनमा बोल्दै कार्डनरले भने, “हालै मैले समाचारमा पढे अनुसार र विभिन्न माध्यमबाट जानकारी पाए अनुसार नेयमारले बार्सिलोनामा फर्किन चाहेको भन्ने सुनिएको छ । तर सही के हो मलाई थाहा छैन ।”

उनले थपे, बार्सिलोनाले अहिलेसम्म नेयमारसँग सम्पर्क गरिसकेको छैन । तर आवश्यक प्रक्रिया पूरा गरेर फर्किन चाहेमा बार्सिलोनाले उनलाई उचितस्थान दिन सक्नेछ । एजेन्सी